थन्कियो इटहरीको विद्युतीय नगर बस
काठमाडौं । इटहरी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको नगर बस एक महिना नपुग्दै थन्किएको छ ।
दुर्घटनामा परेपछि उपमहानगरको विद्युतीय नगर बस थन्किएको हो ।उपमहानगरले सञ्चालनमा ल्याएको चार वटामध्ये प्रदेश १(०२ ००१ क ५३४२ नम्बरको एउटा नगर दुर्घटनामा परेपछि १७ दिनदेखि उपमहानगर परिसरमै थन्किएको हो ।
गत असोज २५ गते इटहरी १७ स्थित पकलीमा प्रहरी विट अगाडि सडक किनारामा रोकेर राखेको नगर बसमा पिकअप गाडीको ढोकाले लागेर सिसा फुटेको इटहरी उपमहानगरपालिका सवारी दर्ता तथा मेशिनरी औजार महाशाखा प्रमुख गणेश भट्टराईले बताए ।
उनकाअनुसार सामान बोक्ने पिकअप गाडीको पछाडिको ढोका खुल्लै रहेका कारण लागेर बसको सिसा फुाटेको छ । ‘गाडी कुद्दा गाडीको खुल्ला ढोका आफैँ लाग्दै, आफैँ बन्द हुँदै गर्दा नगर बसको झ्यालमा ठोक्किएर सिसा फुटेको छ’, उनले भने ।
सिसा फुटेपश्चात् पिकअपले सिसा फेर्दिने सहमति भएको तर उक्त सिसा जहीँतहीँ नपाइने भएकाले गर्दा बस अहिले उपमहानगर परिसरमा राखिएको उनको भनाइ छ । बसको सिसा भैरहवाबाट मगाइएको र छठ पर्व पछाडि मात्र सिसा आइपुग्ने भट्टराईले बताए । उनले बसमा सिसा लगाएपछि मात्रै सञ्चालनमा आउने जनाए ।
इटहरी उपमहानगरपालिकाले आम सर्वसाधारणहरूको सहजताको लागि भनेर गत असोज २ गतेदेखि चार वटा नगर बस सञ्चालनमा ल्याएको थियो । ६ करोड ३६ लाख ८६ हजार रुपैयाँको लागतमा चीनबाट ल्याइएको चार वटा नगर बसमध्ये अहिले तीन वटा नगर बसले सेवा दिइरहेको छ ।