चीन भ्रमणको तयारीमा ओली, बीआरआई प्रोजेक्टको प्रगति बुझ्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् ।
कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले पुष्टि गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगतिबारे फलोअप गर्न निर्देशन दिइएको स्रोतले बताए।
सन् २०१७ मै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ । बेइजिङ भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले बीआरआईलगायत अन्य चिनियाँ सम्झौताको प्रगतिबारे चासो राखेका छन् ।
नेपालमा नयाँ प्रधानमन्त्री बनेसँगै पहिले दक्षिणी छिमेकी भारतको भ्रमण गर्ने सामान्य प्रचलनजस्तै बनिसके पनि चौथोपल्ट प्रधानमन्त्री भएका ओली राष्ट्रसंघ महासभामा भाग लिने क्रममा अमेरिका पुगेका थिए । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेट गरे पनि उनीहरुबीच सौहार्दता विकास हुन नसकेको बताइन्छ ।
यसै क्रममा ओलीले चीन भ्रमण गर्न लागेका हुन्, जसमा चीनसँगको आर्थिक विकास फ्रेमवर्क बीआरआई, ऊर्जा तथा व्यापार लगायत विषयमा छलफल हुन सक्ने बालुवाटार स्रोतको भनाइ छ ।