दैनिक आठ घण्टा काम गर्दापनि चिया मजदुरले पाँच सय ज्याला पाउँदैनन्
काठमाडौं । इलाम ज्यालामा भेदभाव रहेको इलामका चिया मजदुरले गुनासो गरेका छन् ।
कारखाना भित्र र बाहिर काम गर्ने मजदुरको ज्याला फरक फरक रहेको भन्दै गुनासो गरेका हुन् । कारखाना भित्र काम गर्ने मजदुरले ज्याला पाँच सय पाउँदै आएका छन् । तर बाहिर चिया बगानमा काम गर्ने मजदुरलाई चार सय ५८ मात्र दिइने गरेको मजदुर सरस्वती चम्लागाइँले बताइन् । उनका अनुसार बाहिर बढी जोखिम रहेपनि रोजगार दाताले भेदभाव गरेर ज्याला दिने गरेका छन् ।
इलाममा बिस १९२० सालमा चिया रोप्न थालिएको इतिहास छ । सो समय देखी हालसम्म आउँदा पनि मजदुरले कम ज्याला र पाउँदै आएको ज्यालामा पनि भेदभाव रहेको बताउँदै आएका छन् ।नेपालको चियामा इतिहास बोकेको इलाम चिया कमानका मजदुरले बाटो सहज नहुँदा चिया बोक्न समस्या रहेको, बिच, बिचमा टहरा निर्माण नहुँदा घाम र पानीबाट ओतिने ठाउँ नभएको जस्ता गुनासो गरेका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेस इलामले गरेको स्वास्थ्य तथा सुरक्षा विषयक कार्यक्रमका सहभागी मजदुरले अन्य क्षेत्रका मजदुरले भन्दा कम ज्याला रहेको बताएका छन् । दैनिक आठ घण्टा काम गर्दा पनि पुरापुरी पाँच सय नपाउँदा परिवार चलाउन नै समस्या हुने गरेको बताएका छन् ।
श्रम ऐन अनुसार काम गर्न र गराउन पहिला त मजदुरको युनियन दर्ता गराउनु पर्ने ट्रेड युनियनका केन्द्रीय कोषाध्यक्ष सञ्जय दाहालले बताए । उनले राज्य वा कुनै पनि रोजगार दाताले श्रम ऐन अनुसार नै मजदुरलाई ज्याला उपलब्ध गराउनु पर्ने भन्दै नगरेमा नेपाल ट्रेड युनियन काँग्रेस डटेर लाग्ने बताए । ट्रेड युनियन काँग्रेस कोशी प्रदेश कार्य समितिका सचिव ओमनाथ आचार्यले युनियन दर्ता पनि रोजगारदाता र श्रमिक दुवै पक्षलाई फाइदा हुने बताए ।
कार्यक्रममा कोसी प्रदेश कार्य समितिका सहसचिव हरिनाथ फूयाँलले सहजीकरण गरेका थिए । ट्रेड युनियन काँग्रेस इलामका अध्यक्ष जीवन कुमार सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव ढाकाराम न्यौपानेले जानकारी दिए ।