सेमिफाइनलमा आज नेपाल र भारत तथा बंगलादेश र भुटान खेल्दै
काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेलहरु आज हुँदैछन् ।
पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले सर्वाधिक ५ पटकको च्याम्पियन भारतको सामना गर्नेछ । यो खेल साढे ६ बजे सुरु हुनेछ ।
समूह चरणमा दिनको दोस्रो खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले दोस्रो सेमिफाइनलको समय एक घण्टा पछि सारिएको एन्फाले जनाएको छ ।
सेमिफाइनलसम्म आइपुग्दा अहिलेसम्म भारत बाहेक बाँकी तीन टिम अपराजित छन् । नेपाल भुटान र बंगलादेश समूह्य चरणमा अपराजित रहे । सेमिफाइनल कुन टिमले त्यो अपराजित यात्रा कायम राख्ला त्यो भने हेर्नलायक हुनेछ ।
नेपाल भारत र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् । भुटान भने सेमिफाइनल पुगेको यो दोस्रो पटक हो ।
भारतीय टिम
साविक विजेता बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस्तै घरेलु टोली नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारत समूह ए को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।
नेपाल र भुटानले आफ्नो समूहमा २ जित १ बराबरी नतिजा निकाल्दै अपराजित रह्यो । नेपाल र भुटानले समान ७ अंक जोडेपनि गोलअन्तरमा अघि रहँदै नेपाल समूह विजेता बनेको हो ।
पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११(० र श्रीलंकालाई ६(० ले पराजित गरेको थियो ।
यस्तै समूह ए मा बंगलादेशले एक जित र एक बराबरीबाट ४ अंक जोड्यो । भारत एक जित र एक हारको नतिजा निकाल्दै ३ अंक जोडेर उपविजेता बन्यो । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५(२ ले पराजित गरेको थियो ।
दोस्रो खेलमा पाकिस्तानले साविक विजेता बंगलादेश विरुद्ध निर्धारित ९० मिनेटसम्म अग्रता लिएपनि अतिरिक्त समयमा गोल खाएपछि खेल १(१ को बराबरीमा सकिएको थियो ।
बंगलादेशले हार टार्दै समूह चरणबाटै बाहिरिने सम्भावनालाई टारेको थियो । त्यसपछि बंगलादेशले भारतलाई ३(१ ले पराजित गर्दै समूह ए को विजेता बनेको हो ।