भोजपुर र धनकुटा जोड्ने अरुण नदीको पुलमा बिग्रिएका नटको कारण सास्ती
भोजपुर । भोजपुर – धनकुटा र भोजपुर जिल्लालाई जोड्ने अरुण नदीको मोटर पुलको बीच भागमा ४ वटा नट भाँचिएपछि यातायातका साधनहरु प्रभावित भएको छन् ।
एक हप्तादेखि सम्बन्धित निकायमा जानकारी पुर्याइए पनि समस्या समाधानको लागि कुनै ठोस कदम नउठाइएको सर्वसाधारणको गुनासो छ। जसका कारण यात्रुहरूले दैनिक सास्ती खेप्नुपरेको छ।
नट भाँचिएपछि पुलको क्षमता सीमित हुँदा हाल एकतर्फी मात्र गाडीको आवागमन सम्भव भइरहेको छ। यसको प्रत्यक्ष प्रभावले गर्दा यात्रुहरू लामो पर्खाइमा बस्नुपरेको छ भने स्थानीय बासिन्दालाई आवागमनमा थप असहजता उत्पन्न भएको छ। भोजपुर र धनकुटा बीचको आवागमन महत्त्वपूर्ण भएकोले यस समस्याले जनजीवनलाई प्रत्यक्ष असर गरिरहेको छ।
सम्बन्धित निकायले चाँडो समस्या समाधान गरी नटको मर्मत वा व्यवस्थापन गर्न आवश्यक कदम चाल्नुपर्ने माग सर्बसाधारणको छ।