सुन्दरहरैँचामा टिपरले किचेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो
काठमाडौं । मोरङको सुन्दरहरैँचामा टिपरले किचेर मृत्यु भएकी स्कुटर चालक महिलाको पहिचान खुलेको छ ।
सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा बिहीबार दिउँसो ३ः४० बजेतिर दुर्घटना भएको थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले किचेर धनकुटाको खोकु घर भइ सुनसरीको धरान उपमहानगरपालिका–१५ की ४३ वर्षीया भीमा राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
मृतकको तत्काल पहिचान खुलेको थिएन । दुर्घटनामा परेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइपुर्याउनसाथ ४ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक को २८ प ६१३२ नम्बरको स्कुटरमा सवार थिइन् ।
टिपरलाई ‘ओभरटेक’ गरेर अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको मे १ ख २७९१ नम्बरको बसमा स्कुटर ठोक्किएको डीएसपी जोशीले बताए । बसमा ठोक्किएपछि अनियन्त्रित भएर सडकमा लडेको स्कुटरलाई पछाडिबाट आउँदै गरेको बालुवा लोड गरेको टिपरले किचेको जानकारी उनले दिए ।
तीव्र गतिमा रहेको टिपरले किचेपछि शरीरका विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर बनेको थियो । यसअघि प्रहरीले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई टिपरले ठक्कर दिँदा दुर्घटना भएको जनाएको थियो ।
तर, घटनास्थलको सीसी क्यामेरा फुटेज हेर्दा दुर्घटनामा बस पनि संलग्न रहेको तथा टिपर र स्कुटर एउटै दिशाबाट आउँदै गर्दा दुर्घटना भएको पत्ता लागेको हो । शवलाई पोस्टमार्टमका लागि अहिलेसम्म कोशी अस्पतालमै राखिएको छ ।
दुर्घटनालगत्तै टिपर चालक चौधरी फरार भएका थिए । प्रहरीले खोजी गरेर नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।