एक महिनापछि रेसुंगा विमानस्थलमा पुनः उडान सुरु
काठमाडौं। गुल्मी जिल्लाको रेसुंगा विमानस्थलबाट एक महिनापछि पुनः उडान सुरु भएको छ ।
मौसम खराबको कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएको थियो । मौसममा सुधार आएको भन्दै बुधबार र शुक्रबार उडान सुरु गरेको नेपाल एयरलाइन्स रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिन पाएका थिएनन् ।
बहुसंख्यक नेपालीको महत्वपूर्ण चाडपर्वकै बेला लगातार उडान अवरुद्ध हुँदा सेवाग्राहीसमेत असन्तुष्ट छन् । रेसुंगा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ ।
बिहानी समयमा बादल लाग्ने गरेकाले लगातार उडान अवरुद्ध हुदै आएको थियो । मौसम खराबको कारणले गत असारको दोस्रो साताबाट २ महिनासम्म उडान अवरुद्ध हुँदै आएको थियो ।
हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका थिए । अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ ।
पछिल्लो भदौ महिनामा केही दिन उडान भएको थियो । तर अहिले दसैंतिहार जस्ता महत्वपूर्ण चाडपर्वको समयमा लगातार एक महिनासम्म उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिनबाट बञ्चित भएका थिए ।
यात्रुको अत्यधिक चाप बढेपछि रेसुंगा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको छ । तर पछिल्लो केही समयदेखि बुधबार र शुक्रबार मात्रै उडान भइरहेको स्टेशन प्रमुख थापाले बताए ।
रेसुंगा विमानस्थल रेसुंगा नगरपालिका–१० को सिमीचौरमा पर्दछ ।