बसको ठक्करबाट हजुरबुबा नातिनीको घटनास्थलमै मृत्यु
काठमाडौं । झापामा बसको ठक्करबाट हजुरबुबा नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।
यात्रु लिएर काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको रात्री बसको ठक्करबाट हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिकाको केरखा सडकखण्डमा भएको दुर्घटनामा परी कमल गाउँपालिका ३ निवासी ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी १० वर्षीया नातिनीको आज साँझ मृत्यु भएको हो । मृतक नातिनीको नाम तत्काल खुलेको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीका अनुसार प्र–१–०१–००१ ख ४३३१ नम्बरको बसले पश्चिम दिशातर्फ जाँदै गरेको इलेक्ट्रिक साइकललाई ठक्कर दिएको थियो ।
साइकलमा सवार रहेका उनीहरूको मृत्यु भएपछि अहिले पूर्व पश्चिम राजमार्ग तनावग्रस्त बनेको छ । स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् भने दुर्घटनामा संलग्ग्न बस तोडफोड गरेका छन् ।
आक्रोशितहरूले प्रहरी चौकी केर्खामा ढुंगामुढा समेत गरिरहेका छन्। अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।