सत्तारुढ दल नेपाली कांग्रेसले भन्यो : रास्वपाले विधिको शासनको अवमूल्यन गर्यो
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनलाई अवमूल्यन र उपहास गरेको बताएको छ ।
रास्वपा सभापति रवि लामिछाने शुक्रबार पक्राउ परेर पोखरा लगिएपछि त्यस यता उक्त दलले गरेका गतिविधिले अनुसन्धानलाई प्रभावित पार्नेतर्फ सचेत गराएको छ ।
रास्वपाको विरोध प्रदर्शनले राज्यका तटस्थ निकायलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने कार्य भएको कांग्रेसको ठम्याइ छ । निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पुर्याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लामिछानेका समर्थकहरुले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने कांग्रेसले विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।
सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका सञ्चालकहरु जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्ध उजुरी परेपनि विगतमा छानविन अघि नबढेको कांग्रेसको दाबी छ।
प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भएपनि अनुसन्धानको दायरामा आउनुपर्ने कांग्रेसले जनाएको छ । न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाउन उत्तेजित र उच्छृङ्खल गतिविधि नगर्न कांग्रेसले रास्वपालाई सुझाव दिएको छ ।
सहकारी छानबिन समितिले दिएको प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लगेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।