जग्गादान बारे असहमति राख्नेलाई एमालेले स्पष्टीकरण सोध्ने
काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ ।
पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
‘के कति कारणले उहाँहरूले त्यस्तो निर्णय गर्नुभएको छ भन्नेमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ उनले भने।
जग्गादानको विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण नरहेको एमालेले स्पष्ट पारेको छ । महासचिव पोखरेलले भूकम्पबाट पार्टीको कार्यालय क्षतिग्रस्त भएको अवस्थामा कुनै व्यक्तिले सहयोग गर्छु भनेमा त्यो अन्यथा नहुने बताए । यसलाई कानूनी प्रक्रियाबाट सम्वोधन गरिने पनि उनको भनाइ छ ।