रास्वपाका सभापति लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ : सांसद शिशिर खनाल
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
माइतीघरमा जम्मा भएर नयाँ बानेश्वरतर्फ लागेको प्रदर्शनकारीलाई बबरमहलमा प्रहरीले रोकेपछि माइतीघरमै फर्केर प्रदर्शन गरेका हुन् । सोही क्रममा रास्वपाका सांसद शिशिर खनालले निष्कर्षमा पुगिसकेको विषयलाई प्रतिशोध साँध्नु राजनीतिक खेल भएको भन्दै यसका विरुद्धमा सडकमा उत्रिएको बताए ।
उनले भने, ‘सहकारीको रकम रवि लामिछानेले प्रयोग गरेको भनेकै आधारमा सहकारी छानबिन समिति बनेको हो । तर लामिछानेको संलग्नतामा सहकारीबाट पैसा प्रवाह भएको कतैबाट पनि प्रमाण नभेटिएपछि समितिले आफ्नो प्रतिवेदनमा लेखिसकेको छ । प्रमाण नै नभेटिएपछि क्लिन चिट पाएको विषय हो । समिति, सिआइवीलगायत अन्य निकायले छानबिन गरेर निष्कर्षमा पुगिसकेको विषयमा फेरि हिजो पक्राउ पुर्जी थमाएर राजनीतिकरण गरिएको छ । त्यही भएर आज हामी सडकमा आएका हौँ ।’
सहकारीको रकम अपचलन गरेको आरोपमा नेपाल प्रहरीको सीआईबीको टोलीले लामिछानेलाई शुक्रबार राति पार्टी कार्यालयबाट पक्राउ गरेको थियो । उनलाई राति नै पोखरा लगेर जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको छ ।
रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउने जनाएको छ । सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो ।