विराटनगरमा रहेको माछापुच्छ्रे सहकारीका अध्यक्ष जेल चलान
काठमाडौं । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्ण कारागार चलान भएका छन्।
जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि मोरङ कारागार चलान भएका हुन् । शुक्रबार न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।
सहकारीको रकम हिनामिना र अपचलन गरेको आरोपमा माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था सञ्चालक तथा ऋणीविरुद्ध जिल्ला अदालत मोरङमा बिहीबार मुद्दा दायर गरिएको थियो ।
सहकारीको बचत हिनामिना प्रकरणमा अध्यक्ष कर्ण मात्रै पक्राउ परेका थिए । अन्य सञ्चालक र ऋणीलाई फरार प्रतिवादी बनाइएको छ। प्रहरी अनुसन्धानका क्रममा ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ हिनामिना भएको देखिएको थियो ।
सहकारी १०३ बचतकर्ता २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ताको मागसहित निवेदन दिएका छन् । सहकारी संस्थाबाट १ सय ८३ जनालाई ६ करोड ३४ लाख ७६ हजार २ सय २६ रुपैयाँ ऋण लगानी भएको छ । तर धितो लगानी भएको केही ऋणको फाइलमा ऋणीको हस्ताक्षर समेत नभएको प्रहरीले बताएको छ ।