विराटनगरमा सहकारीका सञ्चालक र ऋणीसहित १०९ जनाविरुद्ध मुद्दा
काठमाडौं । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना आरोपमा सहकारीका सञ्चालक र ऋणीविरुद्ध मुद्दा दायर भएको छ ।
मोरङ प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको वर्तमान अध्यक्ष अमलेश कर्णसहित उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, कोषध्यक्ष सोमी भगत, सञ्चालक प्रभाकर थापासहित १०९ जनालाई प्रतिवादी बनाएर ‘सहकारीको रकम हिनामिना गरेको’ मुद्दा दायर गरेको हो ।
प्रतिवादी बनाइएकामध्ये २१ जना सहकारीका वर्तमान र पूर्वसञ्चालक हुन् । अन्य सहकारीका ऋणी हुन् । २०६८ सालयताका सहकारीका पदाधिकारी तथा सदस्यलाई प्रतिवादी बनाइएको मुद्दामा अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन् । अन्य फरार छन् ।
अध्यक्ष कर्ण तत्कालीन विवेकशील साझा पार्टीबाट विराटनगरको मेयरमा उम्मेद्वार बनेका थिए । उपाध्यक्ष मण्डल अस्पताल सञ्चालक हुन्, सचिव ढुंगेल उपभोक्ता अधिकारकर्मी हुन् । सञ्चालक थापा नेपाल तरुण दल मोरङका पूर्वसभापति हुन् ।
प्रहरीमा १०३ जना बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ताको मागसहित निवेदन दिएका छन् ।
अदालतमा दायर भएको अभियोग पत्रमा सहकारी संस्थाले १८३ जनालाई ६ करोड ३४ लाख ७६ हजार २२६ रुपैयाँ ऋण लगानी गरेको देखाइएको छ । अधिकांश ऋण बिना धितोका छन् । केही ऋण लगानी फारममा ऋणीको हस्ताक्षर समेत छैन ।
सहकारी ठगी प्रकरणमा ऋणीलाई पनि प्रतिवादी बनाइएको मुद्दा मोरङमा पहिलो हो । यसअघि सुनसरीमा ऋणीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । सञ्चालकले नै सर्वसाधारणको बचत अपचलन गरेका कारण सहकारी संटकमा परेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।
पक्राउ परेका संस्थाका अध्यक्ष कर्णले पनि संस्थाका पदाधिकारी तथा सदस्य प्रभाकर थापा, अमित कार्की, उत्तम ढुंगेल, श्याम कोइराला, सरु भण्डारी, गोपाल ढकाल, दिलिप कुमार साह, राधादेवी लिम्बु, गोकुल थापा ९पूर्वउपाध्यक्ष०, ईन्द्रेश कर्ण ९ पूर्वसञ्चालक० नियम विपरित ऋण लिएको बयान दिएका छन् ।
व्यवस्थापक समेत रहेका अमित कार्कीले संस्थाको रकम आफ्नो व्यक्तीगत खातामा बचत गरेर अपचलन गरेका छन् । सहकारीको कारोबार उनले आफ्नो व्यक्तिगत बैंक खाताबाट गरेका थिए ।
२०६८र६९ सालेदेखि नै घाटामा रहेको सहकारीलाई लेखा परीक्षकसँग मिलेर निरन्तर नाफामा देखाइएको आरोप छ । सहकारी घाटामा देखाउँदा बचतकर्ताले फिर्ता माग्ने भएका कारण निरन्तर नाफा देखाइएको अध्यक्ष कर्णको दाबी छ ।
बैंकमा पूर्व सचिव समेत रहेका हालका सदस्य प्रभाकर थापा र वर्तमान अध्यक्ष कर्णको हस्ताक्षरको चेक चल्थ्यो । आफू अध्यक्ष भएपनि ऋण लगानी गर्ने बेलामा आफूलाई पेलेर ऋण लगानी गरेको उनले बयान गरेका छन् ।