

बुद्वसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध

काठमाडौं । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् ।
बुद्धसिंह मार्गका दर्जनौं ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरा पन्छाइएको थियो । तर, नाल्दीघाटको पहिरा अझैसम्म नहटाउँदा चाडपर्वको बेला बाटो अवरुद्व भएकोले कष्टकर यात्रा गरिरहनु परेको यात्रुहरुले गुनासो पोख्दै आइरहेका छन् ।
पहिरोका कारण सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघर लगायत स्थानमा सडक अवरोध भएको थियो ।
नाल्दीको पहिरा हटाउन पटकपटक माग गरेपनि सुनुवाइ नभएको बुद्धसिंह मार्ग सरोकार समितिका संयोजकको गुनासो छ ।
नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका-६, आबुँखैरेनी गाउँपालिका-५, देवघाट गाउँपालिका-३ र ४ का जनता मारमा छन् । सडकको पहिरो पन्छाई यातायात सञ्चालन गराउन बन्दीपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराइए पनि प्रगति नभएको स्थानीयले बताउँछन् ।

