साफ महिला फुटबलमा आज दुई खेल हुँदै, नेपालको सामना भुटानसँग
काठमाडौं । जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछ ।
आज पहिलो खेल श्रीलंका र माल्दिभ्सबीच दशरथ रंगशालामा नेपाली समय अनुसार साढे ३ बजेदेखि शुरु हुनेछ । त्यस्तै,दोस्रो खेल नेपाल र भुटानबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि शुरु हुनेछ ।
प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले भाग लिइरहेका छन् । नेपाल समुह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ,भने समुह ‘ए’ मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।
नेपालले यसअघिका सबै ६ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ,भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फां)ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले २३ सदस्यीय टिमको घोषणा गरेको छ ।
एन्फाले घोषणा गरेको टिमः
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।
डिफेन्डरः गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।
मिडफिल्डरः रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।
फरवार्डः रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल ।