आजदेखि शुरु हुँदै साफ महिला च्याम्पियनसिप
काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिदै छन् ।
नेपालसहित समुह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र भुटान रहेको छ,भने समुह ‘ए’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।
प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँदैछ । नेपालले भने पहिलो खेल शुक्रबार भुटानसँग खेल्न लागेको हो ।
नेपालले यसअघिका साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ,भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले २३ सदस्यीय टिमको घोषणा गरेको हो।
एन्फाले घोषणा गरेको टिमः
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।
डिफेन्डरः गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।
मिडफिल्डरः रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।
फरवार्डः रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।