प्रधानमन्त्री ओली भन्छन् : दसैँपछि सरकार तुरुन्त परिवर्तन हुन्छ भन्ने हल्ला फैल्याइयो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँपछि सरकार तुरुन्त परिवर्तन हुन्छ भन्ने हल्ला फैलाइएपनि त्यो सम्भव नभएको बताएका छन् ।
बुधबार नेपाल प्रहरीद्वारा आयोजित ६९ औँ प्रहरी दिवस, २०८१ को समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘दसैँपछि सरकार तुरुन्त परिवर्तन हुन्छ भन्ने हल्ला पनि फैलाइयो । कुन दसैँ २०८४ सालको जबकि हामीले पहिल्यै भनिसकेका छौँ, यो सरकार आफैँ फेरिन्छ । चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुन्छ ।’
प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक विधिबाट कुनै पनि परिवर्तन ल्याउन खोज्नु लोकतान्त्रिक बाटो नभएको बताए । उनले भने, ‘चुुनावका माध्यमबाट सरकार परिवर्तन गर्न सकिन्छ । अलोकतान्त्रिक विधिबाट कुनै पनि परिवर्तन ल्याउन खोज्नु लोकतान्त्रिक बाटो होइन ।’
प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बताए । देश–विदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले समाजमा प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताए ।
प्रथम महिला राधिका शाक्य, गृहमन्त्री रमेश लेखक, संवैधानिक निकायका पदाधिकारी, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी समारोहमा प्रधानमन्त्री ओलीले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’सहित विधिन्न पुरस्कार र छात्रवृत्तिबाट बहालवाला र अवकाशप्रप्त प्रहरीलाई पुरस्कृत गरेका थिए ।