विराटनगरमा गीत गजल संचालकमाथि खुकुरी प्रहार
काठमाडौं । विराटनगरको एउटा गीत गजलका संचालकमाथि मंगलबार साँझ खुकुरी प्रहार भएको छ ।
मुन गीत गजलका संचालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट देब्रे हातमा र नाकको डाँडीमा चोट लागेका भगतको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाकारी लिएको छ ।
उनलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको छ । गीत गजलमा भएको विवादलाई लिएर उनीमाथि खुकुरी प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ । विराटनगर महानगरपालिका–९ का सावन दास र विनोद रायले साँझ करिब ६ बजेतिर भगतमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।
घटनापछि दास र राय फरार भएका छन् । घटना भएको गीत गजल विराटनगरको भूमि प्रशासन चोकमा छ । खुकुरी प्रहार हुनुको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी कार्यलय मोरङले जनाएको छ ।