रेमिट्यान्स १५.५ प्रतिशतले बृद्वि
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) १५.५ प्रतिशतले बृद्वि भएको छ ।
नेपालबाट विदेशतर्फ बस्तु तथा सेवा निर्यात ५.१ प्रतिशतले घट्दा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा रेमिट्यान्स र निर्यातबीच विपरीत अवस्था उल्लेख गरेको हो।
भदौ मसान्तसम्म नेपाल सरकारको खर्च एक खर्ब ३७ अर्ब ५५ करोड र राजस्व परिचालन एक खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँ भएको छ ।
विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको हो । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको बृद्विदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको बृद्विदर ६.६ प्रतिशत रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।