हामीलाई पनि चाहिएको छ — अच्छे दिन आने वाले है!
सन् २०१४ मा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव जित्न जनताको मनोविज्ञान जितेर अगाडि जाने रणनीति अपनाए।
चरम निराशामा भएका जनतालाई मोदी आए भने केही काम गर्छन् कि भन्ने आशा जगाउन ‘अच्छे दिन आने वाले है’ भन्ने लोकप्रिय नारा तय गरे। मोदीले गुजरातमा गरेका केही काम, उनको वाक्पटुता र सादगी जीवनशैलीका कारण उनलाई जनताले पत्याए पनि। दोस्रो पटक पनि जनताले त्यही दललाई नै पत्याए। मोदीले केही गरे पनि!
भूपी शेरचनले भनेजस्तै यो नेपाल हल्लै हल्लाको देश हो। भूपीले ‘यो हल्लै हल्लाको देश हो’ भन्ने कविता लेख्दा हल्ला मच्चाउन मुख र कान भेट हुनै पर्थ्यो। त्यसैले उखान बने होला ‘एक कान दो कान मैदान’, अब एक कान दो कान होइन, एक क्लिकमा देशभर मात्र होइन, विश्वभर हल्ला मच्चिन्छ।
सामाजिक सञ्जाल हल्ला मच्चाउन मात्र होइन, देउतालाई राक्षस बनाउन क्षणभरमा सक्ने भएको छ। यही हल्लै हल्लाले देशको अर्थतन्त्रको तेस्रो खम्बा सहकारी नराम्रोसँग धर्मराएको छ। बैंकहरूबारे भ्रम सिर्जना भएको छ।
‘लगानीको वातावरण नै छैन’ भन्ने हल्लाले नयाँ लगानीकर्ताहरू बजारमा आउन खुट्टा कमाइरहेका छन्। राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय लगानीमा समेत ह्रास आउन थालेको छ। सेयर बजार हल्लामै मच्चिन्छ र हल्लाकै भरमा थच्चिन्छ। रियलस्टेट (घरजग्गा कारोबार) अवस्था त्यस्तै छ। हल्लै हल्लाले मुलुक ‘डुब्ने’ हो कि भन्ने चिन्ता छ!
अहिले हत्केलामा संसार छ। सूचना प्रविधिले विश्वभरका कुरा एकसाथ हरेक कुनामा पुऱ्याएको छ। कटुवाल चिच्याएर सूचना जानकारी लिने गरेका हाम्रा कानहरूले विश्वका जानकारी निभेष भरमा लिन थालेका छन्। रेडियो-टेलिभिजनसमेत प्रयोगबिहीन हुन थालेका छन्।
एक-डेढ दशककै बीचमा भएको सूचना प्रविधिको अकल्पनीय विकासले ठूलो परिवर्तन ल्याएको छ। एआईको विकास हुन थालेपछि हामीले नसोचेको परिवर्तन एक-डेढ दशकमा हुनेछ। यसका सकारात्मक पाटाहरू मात्र छैनन्, नकारात्मक पाटाहरू समेत छन्।
नेपाल बिग्रियो, बस्ने वातावरण नै छैन, छोराछोरीको भविष्यका लागि भए पनि विदेश जानुपर्छ, यहाँ लगानीको वातावरण नै छैन, नेताहरूले देश ध्वस्त पारे, अब श्रीलंकाको बाटोमा मुलुक जाँदैछ भन्ने जस्ता हल्लाहरू मच्चाएर यो देशलाई उजाड र हरिकंगाल बनाउन जानी नजानी हामी लागिरहेका छौं। स्वाभाविक रूपमा मान्छे सकारात्मकभन्दा नकारात्मक कुराको प्रचार बढी गर्छ।
के यो मुलुक बस्न लायक नै नभएको हो त?
भर्खर फेसबुकका भित्ता रंगाउन थालेको नयाँ पुस्ताले विदेशको झिलिमिली मात्र देखेको छ। हजुरबा पुस्ताले भोगेको युग र नाति पुस्ताले अहिले भोगिरहेको युगबीचको भेद उसलाई जानकारी नै छैन।
दुई-तीन दशकका बीचमा यो मुलुकमा अभूतपूर्व परिवर्तन भएको कुरा हाम्रा आँखाले देखिरहेका छन्।
नुन बोकेर ढाड खुइलाएका हाम्रा आमाबाहरू आँगनमा ट्याक्सी बोलाएर हिँड्ने भएका छन्। गाउँमा हुनेखानेका छोराछोरी समेत राम्रा कपडा लगाएर स्कुल जाने अवस्था थिएन। गाउँ डुङडुङ गन्हाउँथे, चर्पी बनाउने चेतना नै थिएन। थोरैका छोराछोरी मात्र स्कुल जान्थे। अहिले स्कुल नजाने बच्चा भेटिँदैन। देशविदेश गएरै भए पनि राम्रो लगाएकै छन्। मिठो खाएकै छन्। राती राम्रो बिस्तारामा पनि सुतेकै छन्।
तीन दशकअघि गाउँ त के, सहर समेत अहिलेभन्दा फरक थियो। हाम्रा आमाबा र हजुरबा-हजुरआमाको जीवनमा आएको परिवर्तनभन्दा अहिले ठूलो परिवर्तन आएको छ। हरेकजसोका हातमा स्मार्टफोन देखिन थालेका छन्। त्यसो त दुःख, दर्द र गरिबीको हृदय विदारक अवस्था अन्त्य भयो भन्ने चाहिँ होइन!
समस्या कहाँनेर हो भने, हामीले युरोपेली र अमेरिकी जीवनशैली प्रत्यक्ष देख्यौं, सुन्यौं। हामीले उताकोसँग तुलना गर्न थाल्यौं। प्रत्येक चुनावमा नेताले ठूला सपना देखाए। माछापुच्छ्रेजस्ता अग्ला सपना देखाए। तर फूलचोकी डाँडासम्म पनि पुगेनन्।
नेताका सपना सुनेर हामी धेरै हौसियौं। चाहिनेभन्दा बढी आशा गऱ्यौं। पुरा हुनै नसक्ने आशाले चरम निराशामा पुऱ्यायो। त्यही निराशा अक्रोशमा परिणत हुन थालेको छ।
हाम्रा रहर, सपना र बाध्यताले हामीलाई गाउँबाट उठाएर सहर ल्यायो। अब सहरबाट उठाएर युरोप-अमेरिकातिर पुऱ्याउन थालेको छ। मान्छे छोराछोरीको भविष्य खोज्दै अमेरिकातिर किन जान्छ? के अमेरिका नपुग्ने हाम्रा छोराछोरी गवार नै बन्ने हुन् त? के हामीले दुई दशकपछि पछुताएर आफ्नै थाप्लामा हिर्काउँदै बस्नु पर्ने हो त?
मै हुँ भन्ने मान्छेका छोराछोरी जसले जिन्दगीभर कहिल्यै श्रम गरेनन् र अहिले श्रम गर्ने मान्छेलाई अपमान गर्नेहरू पनि अमेरिकामा झाडु लगाउन खुसी नै हुन्छन्।
पछिल्ला केही रिपोर्टअनुसार नेपालका ग्रामीण क्षेत्रमा ६ प्रतिशत अर्थात् ४ लाख ७२ हजार घर मानवबिहीन भएका छन्। सन् २०१३ मा ७१ हजार जति नेपाली स्थायी बसोबासका लागि नेपालबाट बाहिरिएछन्। विभिन्न तथ्यांक हेर्दा विश्वको ४ प्रतिशत जति जनसंख्याको अन्तर्देशीय बसाइँसराइ भएको देखिन्छ। तर नेपालमा झन्डै ३० प्रतिशत पुग्न थालेको छ।
नेपालका ग्रामीण क्षेत्रहरू वृद्धाश्रममा परिणत हुन थालेका छन्। युवायुवती र बच्चाहरू भेट्न दसैंतिहार कुर्नुपर्छ। धेरै स्कुल गाभिइसके। बीस वर्षअघि पाँच सय विद्यार्थी हुने विद्यालयमा दुई सय विद्यार्थी भेट्न मुस्किल छ। ऊ बेला एकतिहाई बच्चाहरू त स्कुल नै जाँदैन थिए। अहिले स्कुल नजाने बच्चा नै छैनन् तर विद्यालय सुनसान छन्।
उत्पादन सम्बन्धमा आएको परिवर्तन र आधुनिकीकरणसँगै विश्वका अहिलेका सम्पन्न देशहरू पनि यो स्थितिबाट गुज्रेको हामीले पढ्न र सुन्न पाउँछौं। कतिपय कुरा विकासको गतिसँगै हुने स्वाभाविक गति होलान् तर कतिपय शासकीय तथा प्रशासकीय कमजोरी तथा नकारात्मकताको अधिकतम प्रचार पनि हो।
‘हामी र हाम्रा सन्तती बस्न लायक मुलुक बन्दैछ र यही धर्तीमा बसेर सुन्दर संसारको परिकल्पना गर्न सकिन्छ’ भन्ने सुरक्षित भविष्यको आशा गर्ने वातावरण बनाउनुपर्छ। लगानी र जवानीमैत्री वातावरण बनाउनुपर्छ। बनाउनु त पर्छ तर कसरी?
पहिलो कुरा ‘अच्छे दिन आने वाले है’ भन्ने आशा विश्वास र भ्रम आमजनतामा हुनुपऱ्यो।
यो हल्लै हल्लाको मुलुक हो। हल्लै हल्लाले पनि यो मुलुक राम्रो बन्न सक्छ। लगानी र जवानीको कमी छैन यहाँ। देशका शासक तथा प्रशासकमाथि विश्वास नभएको हो। विश्वास गर्ने वातावरण बन्न ‘सिस्टम’ नभएको हो। जनतालाई दिने सेवा चुस्त नभएको हो।
सरकारी कार्यालयमा दुई-चार जना कर्मचारी थप्दा सहज रूपमा प्रवाह हुन सक्ने सेवालाई घन्टौं लाइनमा बस्ने अवस्था गराउनु भएन। जुन काम नेता र ठूलै कर्मचारीको फोन लगाएपछि हुने हो, त्यो कामा सेवाग्राहीले स्वयं गर्ने वातावरण हुनुपर्छ।
अनियमितता र भ्रष्टाचार अन्त्य हुनुपर्छ।
यति मात्र भए पनि आधा निराशा सजिलै निराकरण हुन सक्छ।
हामीले थिति बसाल्न सक्यौं र जनतामा ‘अच्छे दिन आने वाले है’ भन्ने जस्तै अब केही हुन्छ है भन्ने आशा, विश्वास र भ्रम सञ्चार गर्न सक्यौं भने लगानी र जवानीका लागि सही वातावरण बन्छ। अन्यथा हाम्रा ग्रामीण बस्ती वृद्धाश्रममा परिणत भइसके। अब सहर पनि हुनेछन्!