

हुम्लामा तीन दिन पछि पुनः उडान सुरु

काठमाडौं । भौगोलिक दृष्टिकोणले हेर्ने हो भने सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्ला हो ।
सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । यहाँ दसैँको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन । तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशनले जानकारी दिएको छ ।
आज नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको छ । दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।
मङ्गलबारका लागि टिकट बुकिङ भइसकेको छ । सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ ।
नेपालगञ्जपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको सिमकोट स्टेशनले जनाएको छ ।

