तत्काल लाभग्राहीको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन
- दिबस श्रेष्ठ
काठमाडौं । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि बाढीपहिरो तथा डुबानबाट ललितपुरं जिल्लामा मात्रै साढे ५३ करोड बराबरको सम्पतिमा क्षति पुगेको छ ।
प्रहरी प्रधान कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार ललिपतुरमा मात्रै ५३ करोड ५१ लाख २५ हजार बराबरको धनमालको क्षति भएको हो । बाढी-पहिरोमा परी यस जिल्लामा हालसम्मा ४५ जनाको मृत्यु, ३ घाइते, ६ बेपत्ता र १ हजार १ सय ९५ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनुभयो ।
ललितपुरको गोदावरीमा गृहमन्त्री लेखकले आइतबार बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर ३ दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,-‘सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको छ । सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो । खोजी तथा उद्धारको काम भइरहेको छ । बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको छ । क्षतिको यकिन विवरण सङ्कलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्नु आवश्यक छ ।’ उहाँले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभयो ।
गृहमन्त्री लेखकले आइतबार बिहान सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिका बारेमा जानकारी लिनुभएको थियोे । यसैक्रममा उहाँले पहिरोले क्षति पुर्याएको लेलेको आनन्दवन अस्पताल क्षेत्रको पनि निरीक्षण गर्नुभएको छ । अस्पताल परिसरमा गएको पहिरोमा परी ३२ वर्षदेखि अस्पतालको रिसर्च टेक्निकल अफिसरमा कार्यरत विवेक सिंहको मृत्यु भएको थियो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई २ लाखका दरले घरमै पुगेर रकम प्रदान गरिएको जानकारी गृहमन्त्री लेखकलाई गराएका छन् । उहाँले बाँकी मृतकका परिवारलाई रकम उपलब्ध गराउने विषयमा समन्वय भइरहेकाले तत्काल उपलब्ध गराइने जानकारी गराउनुभयो ।
निरीक्षणका क्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायत प्रहरी प्रमुखसहितका अधिकारीहरु सहभागी थिए।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जिल्लाका ४० भन्दा बढी पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । योसँगै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि ३ महिनाका लागि जिल्लाका बागमती, कोन्ज्योसोम, महांकाल गाउँपालिका र गोदाबरी नगरपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।