

मेटमणि चौधरीलाई आफ्नै अभिव्यक्ति बन्यो गलपासो

काठमाडौ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले दावी गर्नु जायज भएको अभिव्यक्ति दिएका कारण यतिबेला विवादमा परेका छन्।
उपमहासचिव चौधरीले केही दिन अघि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले दावी गर्नु जायज भएको अभिव्यक्ति दिएपछि उहाँलाई आफ्नै पार्टीले समेत स्पष्टीकरण लिइसकेको छ । तर पार्टीलाई दिएको स्पष्टीकरणमा उहाँले आफूले भनेको कुरालाई बंग्याएर गलत अर्थ लगाइएको दावी गर्नुभएको छ ।
महासचिव चौधरीले पार्टीलानाई स्पष्टीकरण दिंदा खेरी आफ्ना भनाइहरुलाई तोडमोड गरेर विवादित बनाउन खोजिएको समेत बताउनुभयो । उहाँको यो अभिव्यक्तिलाई लिएर अहिले जनता र राजनीतिक वृत्तमा बहसको विषय बनेको छ । २ पटक सांसद र पार्टीको उमहासचिव जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिको मुखाराविन्दुबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु आश्चर्यजनक भएकोे छ । जसले गर्दा खासमा उहाँले यस विषयमा के बोल्नुभएको रहेछ भन्ने जिज्ञासा आमनागरिकमा बढेको छ ।यतिबेला उमहासचिव चौधरीले बोलेको त्यो भनाइको भिडिओ क्लिप्स सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
उहाँले भन्नुभएको छ, -‘भारतको हो नि त्यो चुच्चे नक्सा, मेरो नक्सा, मेरो देशको नक्सा भन्न मिल्छ? यस्तो फटागिरी काम कसैले गर्न हुँदैन। अहिले पनि त्यसबेला नेकपा एमालेको भूमिका थियो गल्ती थियो। कोशी नदी बेच्ने काम भो, गण्डकी बेच्ने काम भो। पछिल्लो २ वटा नदी बेच्ने कुरामा हाम्रो भूमिका थिएन। कम्युनिस्ट पार्टीका मान्छेहरूको भूमिका थिएन। पछिल्लो महाकाली सन्धि सम्झौता गर्दा खेरी त्यस कारणले आज जुन ३ सय स्क्वाएर किलोमिटर भूमि छ । त्यो भारतले दावी गरिरहेको छ, उसको दावी पुग्छ। तर आज मान्छेलाई भ्रमित र एकदम बेकुब बनाउनका लागि चुच्चे नक्सा निकालिएको छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल जेठ ७ गते संविधान संशोधन नै गरेर भारतले प्रयोेग गरिरहेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ चुच्चे नक्सा बनाउनुभएको थियो । तर महासचिव चौधरीले त्यो चुच्चे नक्सा नेपालले जारी गरेर गल्ती गरेको बताउनुभएकोे छ । अब यसरी गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि संसद र पार्टीले उपमहासचिव चौधरीलाई कस्तो किसिमको कारबाही गर्ला त्यो भने हेर्न बाँकी नै छ ।

