

कांग्रेस महामन्त्री थापा पनि महाधिवेशनको मिति सार्ने पक्षमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि पार्टीको १५ औँ महाधिवेशन सार्ने पक्षमा देखिएका छन् । थापाले पार्टीको महाधिवेशन २०८३ मंसिरसम्म भइसक्ने बताएर महाधिवेशनको मिति सार्ने पक्षमा आफू रहेको सन्देश दिएका हुन् ।
कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । पार्टी विधान अनुसार १५ औँ महाधिवेशन २०८२ मंसिरमा हुनुपर्छ । तर, थापाले बिहीबार पार्टीको काठमाडौँ क्षेत्र नम्बर २ अन्तगर्तको प्रदेश सम्मेलनमा महाधिवेशन २०८३ मंसिरसम्म भइसक्ने बताएका हुन् ।
प्रदेश सम्मेलनमा थापाले भने, ‘२०८३ सालको मंसिर यतै हाम्रो महाधिवेशन भइसक्छ ।’ महामन्त्री थापाले २०८२ मंसिरमै पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने बताउँदै आएका थिए । अहिले भने उनको बोली फेरिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा गत फागुन २ गते बसेको संस्थापन पक्षीय ११ नेताहरूको बैठकले महाधिवेशन एक वर्ष सार्ने अनौपचारिक रूपमा सहमति गरेको थियो ।
आफूलाई १४ औँ महाधिवेशनमा सहयोग गरेका नेताहरूसँग सभापति देउवाले कांग्रेससँग सत्ता सहकार्य गर्दा भएको सहमतिमा कांग्रेस सभापतिको हैसियतमा शेरबहादुर देउवा प्रधानमन्त्री हुने उल्लेख गरेको र त्यो समय २०८३ असार ३० गते भएकाले त्यसबेलासम्म महाधिवेशनको प्रक्रिया सुरु नगर्ने प्रस्ताव राखेका थिए ।
२०८३ साउनबाट प्रक्रिया सुरु गरेर मंसिरमा महाधिवेशन गर्ने उनको प्रस्ताव थियो । त्यो प्रस्तावलाई नेताहरूले सहर्ष स्वीकारेका थिए । वैठक सकिएपछि सञ्चारकर्मीहरूसँग प्रवक्ता डा। प्रकाशशरण महतले कांग्रेस महाधिवेशन एक वर्ष सार्ने विषयमा कुराकानी भएको र अब बस्ने केन्द्रीय समितिमा त्यो प्रस्ताव जाने बताएका थिए ।
वर्तमान कार्यसमितिमा देउवा ८० प्रतिशत बढी मत अगटेर बसेका छन् । तै पनि महामन्त्री थापाले अनौपचारिक रूपमा आएको महाधिवेशन सार्ने प्रस्ताव स्वीकार्य नहुने बताउँदै आएका थिए । अहिले आफू असहमत भए पनि विधानमा भएको व्यवस्था बमोजिम देउवाले एक वर्ष म्याद थप्ने बुझेर २०८३ सम्म १५ औँ महाधिवेशन हुने सार्वजनिक रूपमै बताएका छन् ।
यसले संस्थापन पक्षीय नेताहरू भने महामन्त्री थापा पनि आफूहरूको लाइनमा आएको बताउन थालेका छन् ।कांग्रेसमा इतर समूहका नेता डा।शेखर कोइरालाले भने महाधिवेशन विधानमा भएको व्यवस्था बमोजिम नै हुनुपर्ने बताउँदै आएका छन् । केन्द्रीय समितिको बहुमतमा सार्न नपाइने उनको भनाइ रहँदै आएको छ ।
थापा निकटस्थ नेताहरूका अनुसार उनले आगामी महाधिवेशनमा सभापतिको लागि आन्तरिक रूपमा तयारी गरिरहेका छन् । तर, बाहिर भने घोषणा गरिसकेका छैनन् ।
सभापति देउवालाई नचिढ्याउने र सकभर उनको समर्थन लिने मनसायले थापाको यस्तो अभिव्यक्ति आएको हुनसक्ने बताउँछन् । पछिल्लो समय महामन्त्री थापा र सभापति देउवा नजिकिएका छन् । १४ औ महाधिवेशनमा इतर समूहका नेता डा कोइरालाको प्यानलबाट महामन्त्री जितेका थापाको अहिले डा कोइरालासङ्ग सम्बन्ध सुमधुर नभएको उनीहरू नजिकका नेताहरू बताउँछन् ।
त्यसैको प्रतिक्रियास्वरुप डा कोइरालाको भनाइ विपरीत महामन्त्री थापाको भनाइ आएको हुन सक्ने पनि एकथरि नेताहरू बताउँछन् ।

