

प्रधानमन्त्रीलाई कांग्रेसको पूर्ण समर्थन छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र नेपाली कांग्रेसको पूर्ण साथ समर्थन रहेको बताएका छन् ।
कांग्रेस–एमालेबिच सम्बन्धमा केही आशंका पैदा भएको चर्चा परिचर्चा चलिरहेका बेलामा देउवाले ओलीलाई आफ्नो र कांग्रेसको पूर्ण समर्थन रहेको बताएका हुन् ।
मंगलबार काठमाडौँमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुबा’ नामक किताब विमोचन कार्यक्रममा सभापति देउवाले ओली र आफू जेल बस्दा गोलघरमा संबै बसेका साथीसमेत भएको बताए । उनले भने,‘प्रधानमन्त्री ओलीजीलाई म र कांग्रेसको पूर्ण साथ र समर्थन छ । उहाँ र म जेल बस्दा गोलघरमा संगै बसेका हौँ ।’ उनले ओलीले पनि सहयोग गर्ने विश्वास आफूलाई रहेको बताए ।
सोमबार मात्रै ओली नेतृत्वको कांग्रेससमेत सहभागी सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर त्यो पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि कांग्रेस महामन्त्रीद्वयले सरकारको निर्णयको विरोध गरेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले घिसिङलाई हटाउने निर्णयको स्वामित्व कांग्रेसले लिन नहुने बताएपछि कतै दुई पार्टीबीचको सम्बन्धमा दरार आउने त होइन भन्ने आशंका व्यक्त भइरहेका बेला देउवाले त्यस्तो अभिव्यक्ति आएको हो ।
देउवाले त्यस्तो धारणा राख्ने कार्यक्रममा प्रधानमन्त्री ओली पनि थिए ।

