

अरूण गाउँपालिकामा भीषण आगलागी, पीडित परिवारलाई आपत्कालीन राहत, स्थानीय टोलीद्वारा घरमै वितरण

भोजपुर । भोजपुरको अरूण गाउँपालिका वडा नं ४, ६, र ७ मा गत चैत ३ गते भएको आगलागीले ठूलो भौतिक क्षति पुर्याएको छ । बसोबास गरिरहेका केही घरहरू र गोठहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्। सौभाग्यवश, कुनै मानवीय क्षति भने भएन ।
आगलागी नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिक दलका प्रतिनिधि, र कर्मचारीहरू सक्रिय रूपमा खटिएका थिए। आगो नियन्त्रण ३ गते राति अबेरसम्म गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, तथा विभिन्न वडाका वडाध्यक्षहरू घटनास्थलमै रहेर राहत तथा व्यवस्थापनमा संलग्न भएका थिए।
पिडित परिवारलाई आपत्कालीन राहत वितरण
हिजो बिहान पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, तथा समाजसेवीहरूको टोलीले पीडित परिवारहरूका घरमै पुगेर राहत वितरण गरेको छ हो । तत्कालका लागि चामल, नुन, तेल, कुकर, कराही, डाडु पन्यू, थाल, गिलास, जग, बाल्टी, सिरक, डसना, सिरानी, र तन्ना जस्ता अत्यावश्यक सामग्री प्रदान गरिएको छ।
गाउँपालिकाले यो सहयोग पर्याप्त नभए पनि कठिन घडीमा पीडितहरूलाई केही राहत मिल्ने विश्वास व्यक्त गरेको छ। साथै, थप सहयोगका लागि अन्य निकायहरूसँग समन्वय भइरहेको पालिका अध्यक्ष खत्रीले जानकारी दिनुभएको छ ।
आगलागी नियन्त्रणका लागि सबैलाई सचेत रहन आग्रह
सुख्खा मौसमका कारण आगलागीको जोखिम उच्च रहेकोले गाउँपालिकाले सबैलाई सतर्क रहन अनुरोध गरेको छ। कुनै पनि स्थानमा आगलागी भएमा तुरुन्तै गाउँपालिका कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकाय, वा अन्य जिम्मेवार व्यक्तिहरूलाई जानकारी गराउन अपील गरिएको छ, जसले गर्दा आगलागी नियन्त्रणमा सजिलो हुनेछ।
गाउँपालिकाले आगलागी नियन्त्रणमा सहयोग गर्ने सम्पूर्ण स्थानीयबासी, सुरक्षा निकाय, कर्मचारी, तथा स्वयंसेवीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। “आफू पनि बचौं, अरूलाई पनि बचाऔं!”

