

स्वदेशमै भविष्य खोज्दै रौतहटका श्याम, विदेशको जीवन छोडेर कृषि फार्ममा नेतृत्वको यात्रा

काठमाडौँ । मधेशमा चिसो धमाधम ओरालो लाग्दैछ, बिस्तारै तापक्रम उकालो लाग्दैछ । अचेल मधेशमा तापक्रम बढेसँगै बिहानैदेखि बजार र सडकमा मानिसहरूको चहलपहल सुरु भएको छ । सडक, बाटो र बारीमा मानिसहरूको ओहोरदोहोर बढ्न थालिसकेको छ । आँखाले देख्न सकिने पर९परका खेतबारीमा मानिसहरू देखिन थालेका छन् ।
रौतहटको वृन्दावन नगरपालिका९१ को फ्रेसकेटीएम फार्मका कामदारलाई बिहानैदेखि कामको चटारोले छोएको छ । सबै जना फार्ममा आफ्नै जिम्मेवारी पूरा गर्न तल्लिन देखिन्छन् ।
फार्ममा रहेका कामदार खेतमा माटो तयार पार्दैछन् । केही सहयोगी हाँस, कुखुरा र गाईभैंसीहरूको हेरचाह गर्दैछन् । कोही फार्ममा फलेका तरकारी टिप्न व्यस्त देखिन्थे । कसैलाई स्थानीय बजारमा पुर्याउन हतारो भएको जस्तो लाग्थ्यो । फार्मकै गाडीमा तरकारी हालिरहेका छन् ।
सबै आ९आफ्नै काममा व्यस्त रहँदा रातो वर्णका मझौला कदका एक युवकको प्रवेश हुन्छ, श्याम तामाङ । जसले फार्ममा सुपरभिजनको काम पाएका छन् ।
बिहानैदेखि फार्ममा रहेका सबै साथीहरूलाई काम लगाउनु र बारीमा भएका तरकारीहरूको हेरचाह गर्नु उनको पहिलो जिम्मेवारीमा पर्छ । सय बिघामा लगाइएका तरकारीको हेरचाह मात्र नभइ फार्ममा रहेका अन्य कर्मचारीको काम पनि श्यामले हेर्छन् ।
सिन्धुपाल्चोक मेलम्ची ४ का श्यामले प्राथमिक शिक्षा गाउँबाटै हासिल गरे । स्थानीय विद्यालयमा आफूलाई पुग्ने ज्ञान र विद्या आर्जन गरिसकेको उनको तर्क छ । प्राथमिक शिक्षा मात्र पूरा गरे पनि अध्ययनको कमी भएको महसुस उनले गरेनन् ।
जसले पढेरभन्दा गरेर जाने
मध्यम वर्गीय परिवारमा हुर्किएका उनी आफूलाई काम गर्न रुचाउने र मेहनतीमै गणना गर्छन् । उनी भन्छन्, घर९परिवारका अन्य सदस्यले काम र दुःख नगर । सकेको हामी सहयोग गर्छौ भन्छन् । मनले मान्दैन । सकेसम्म आफैँ काम गरेर खान मन छ ।
जापानमा रहेका भाइ९बहिनीले श्यामलाई काम गर्नुपर्दैन भन्छन् । आफ्नो पाखुरा चलेसम्म काम गरेर खानुपर्छ भन्ने भनाइलाई आत्मसाथ गरेकाले उनी परिश्रम गर्नबाट कहिल्यै टाढा हुँदैनन् ।
श्याम बिहान ६ बजेदेखि साँझ साढे ६ बजेसम्म फार्ममा व्यस्त रहन्छन् । दिन लामो हुँदै गएपछि कोहीबेला साढे ९ बजेसम्म फार्ममा व्यस्त रहने उनले सुनाए ।
काम गर्न सहज छ । आफूले गरेको भिन्न पेशाभन्दा फरक काम गरिरहेकाले नौलो अनुभव प्राप्त गरिरहेको छु, उनले भने । यसभन्दा अघि उनी काठमाडौँमै सवारी चालक थिए ।
तीन वर्षसम्म सवारी चालकको उनीसँग अनुभव छ । अहिले भने फार्ममा उनको दैनिकी बितिरहेको छ । जहाँ उनी चालक होइन सुपरभाइजर छन् । उनले फार्ममा काम गरेको एक वर्ष भयो । उनको मातहतमा ७० जना कर्मचारी र दैनिक ज्यालादारी ३० जना छन् ।
श्यामले झण्डै सात वर्षको विदेश बसाइलाई बिट मारेर गाडी लिएर दुई वर्ष चलाए । उनी कामलाई सानो९ ठूलो भनी विभेद गर्दैनन् । खल्तीमा लाइसेन्स बोक्ने यतिखेर श्याम मेलामा धानको भारी बोकेर बसेका छन् । जहाँ प्रकृति र प्राणीसँग मात्रै रमाएका छैनन् दैनिक माटोसँग पैंठेजोरी खेल्छन् ।
उनी फ्रेसकेटीएममा ड्राइभिङ गर्थे । गाडी चलाउन आएका उनले सीप र क्षमताले गर्दा आफूलाई भीडभन्दा फरक उभ्याएका छन् । सिक्न आएका उनी अहिले भने अरुलाई सिकाउन थालेका छन् ।
सय जनाको कामदारको नेतृत्त्व
सय जना कामदारलाई काममा अह्राउने जिम्मा श्यामको छ । सबैले काम गरेको र नगरेको रेखदेख आफूले गर्ने गरेको उनी बताउँछन् । श्यामले अवसर पाए । सजिलो काम त्यागेर नयाँ र नौलो ज्ञान सिक्न रौटहटको गर्मीलाई पछ्याउँदै पुगे । उनलाई गाडीमा बसेर काम गर्नु सजिलो थियो । नयाँ कुरा सिक्न र फरक भूगोलमा जीवनयापन गर्न चाहने रुचीले उनलाई फार्मले तान्यो ।
मेहनती र इमान्दारी भएकाले यो ठाउँमा पुगेको छु, ३६ वर्षीय श्याम भन्छन्, इमान्दार भएर सिधा बाटोमा हिँड्ने आफ्नो जिम्मेवार पूरा गर्ने हो मानिसले आफ्नो लक्ष्य हासिल गर्छन् । समस्यासँगै समाधान पनि आउँछ । समस्या पर्यो भनेर आँत्तिन हुँदैन ।
उनले खेतीपाती, मलखाद व्यवस्थापन, पशुपालन र सिंचाइ प्रणाली सिके । सप्लाई चेन व्यवस्थापन, गोदाम र ढुवानी नियन्त्रण गर्ने जिम्मेवारी पाए । पढेर पाएको शिक्षाभन्दा व्यवहारिक शिक्षा उनले महत्त्वपूर्ण ठाने । यो सबैको परिणाम भनेको निरन्तर लगाव, इमान्दार तथा विश्वास रहेको उनी मान्छन् ।
अहिलेको समयमा मानिस प्रविधिसँग अपडेट हुनुपर्छ । परिवर्तनसँगै मानिसको जीवनमा नयाँ९नयाँ अवसर आउने गर्छ । श्यामले पनि प्रविधिका बाटोलाई पछ्याएर आफूलाई सजिलो बनाएको ठान्छन् ।
त्यसैको फलस्वरुप उनले आधुनिक कृषि फार्ममा सम्पूर्ण जिम्मेवारी पाएका छन् । सडकको अनुभवबाट एक्कासी कृषि फार्ममा पुग्नु वास्तविक जीवन सिकाइको पाठशाला रहेछ,उनले उत्साहित हुँदै भने, नदेखिएका हरेक कुराको आफ्नै अस्तित्व रहेको र यहाँ आएपछि त्यस्ता विषयको महत्त्व बुझेको छु ।
संकलन केन्द्रमा उनले कामको वर्गीकरण बुझे । हरेक कामको महत्त्व हुन्छ । फार्ममा अझ बढी वर्गीकरण हुने रहेछ । उनले तरकारी वर्गीकरण, प्याकेजिङ र वस्तुको गुणस्तरका काम सिके । कसरी यहाँका वस्तुहरू बजारसम्म पुर्याउँने र बजारलाई फार्ममा ल्याउने त्यो महसुस गरे ।
श्याम परिवारका जेठा छोरा हुन् । सानैमा जिम्मेवारीको बोझ उनको काँधमा आयो । उनले देश छाडे इराक र मलेसियालाई कर्मभूमी बनाइसकेका छन् । झण्डै सात वर्ष विदेशमा बिताएका उनले अब भने काम पाएसम्म नेपाल नछाड्ने योजना बनाएका छन् ।
समय९समयमा परिवार भेट्न काठमाडौँ आइरहन्छन् । तर कोहीबेला भने परिवारका सदस्य पनि उतै जान्छन् । उनका एक छोरा र छोरी छन् । एकदिन श्याम भएको ठाउँमा छोरी पुगिन् । उनले बुबालाई पहिलोचोटि नेतृत्वको भूमिकामा देखिन्। उनले भावुक हुँदै भने, छोरीले बुबालाई सम्मान गरेको देखिन् । अरुले सर भनेर बोलाएको सुन्दा अचम्म मानिन् । पुनः छोरीको भनाइ उद्दत गर्दै उनले सुनाए,पापा, मैले कहिल्यै सोचेको थिइनँ कि तपाईं नेता हुनुहुन्छ ।
विदेश भनेको जोखिमको यात्रा
पोर्चुगल जान अप्लाइ गरे पनि त्यसलाई रद्ध गरिसकेको उनले सुनाए ।विदेश भनेको जोखिमको यात्रा हो, मसँग विदेशमा काम गरेको धेरै अनुभव छ,उनी विगत सम्झँदै भन्छन्, जतिखेर जे पनि हुन सक्छ । भनेको समयमा घर परिवारलाई भेट्न नपाइने । तर,यहाँ काम पाएमा जुनसुकै समयमा परिवारलाई भेट्न जान पाइन्छ । आफ्नो देश भनेको आफ्नै हो । यहाँको रहनसहन, रितिरिवाज तथा हावापानी कहिले भुल्न नसकिने खालका छन् ।
उनी विदेशमा नेपालीलाई भेट्ने गर्थे । भेटघाटमा नेपाली समाजको तथा समसामयिक विषयमा कुरा गर्न रुचाउँथे । सबैले उनलाई भन्थेु नेपालमा केही हुँदैन। हाम्रो देशले हामीलाई अवसर दिँदैन।
श्याम भने फरक स्वभावका थिए । अरुका कुरा सुने पनि आफैँ निर्णय लिन्थे । अरुको कुरामा पछि लाग्दैन थिए । उनलाई स्वदेश फर्कने हुटहुटीले तानिरह्यो । देश फर्कने चाहनाले नै यो अवसर पाएको उनी ठान्छन् ।
श्याम स्टेरिङदेखि कम्प्युटरसम्म पुगेका छन् । उनले प्रविधिसँगै व्यवस्थापन सिकेका छन् । अहिले फार्ममा भने आफूभन्दा योग्यतामा शिक्षितलाई सिस्टमका कुरा सिकाउँछन् । उनीसँग युद्धमा इराकमा अमेरिकी सैनिकको क्याम्पभित्र बसेर काम गरेको अनुभव पनि छ । त्यति मात्रै होइन् मलेसियामा उनी फ्याक्ट्रीमा पनि काम गर्थे ।
फ्रेसकेटीएममा भरत अर्यालमार्फत प्रवेश गरेका हुन् । अग्रज आङ छिरिङ शेर्पाले सिस्टमको बारेमा सिकाएको उनी सम्झन्छन्,फोटोकपी गर्न नआउँदा सिस्टम सबै सिकाइ दिने सरोज श्रेष्ठ र फिल्डमा काम गर्दा राम्रो सहयोग सोभित कँडेल र मदन मोक्तानको रहेको थियो ।
उनी कहिल्यै प्रमोशन माग्न गएका थिएनन् । उनी काम गरेर आफ्नो ठाउँ बनाउँदै गए । नजान्ने कुरा हातमा लिनुहोस्, प्रयास नगरी पछि नहट्नुहोस्, उनी प्रेरणादायी सुनिन्छन् । नेपालमा धेरै युवाहरू आफूलाई नयाँ कुरा सिक्न अयोग्य ठान्छन् । यो सोचाइ ठूलो भुल हो । इच्छा हुनेहरूलाई यहाँ प्रशस्त अवसर छ ।
कम्प्युटर त पढेलेखेकाहरूका लागि मात्र हो भन्ने मान्यतालाई उनी भत्काउन चाहन्छन् । उनी अहिले कम्प्युटर सहजै चलाएर सिस्टममा काम गर्छन् ।
व्यवस्थापन गर्न कुनै तहको प्रमाणपत्र मात्र लिएर हुन्न । काम गरेर व्यवस्थापन गर्न सकिने श्यामको अनुभव छ । टिमलाई सम्हालेर लैजान नेतृत्व गर्ने मान्छे त पढेकोभन्दा पनि सहनशील, मेहनती र इमान्दारी हुनुपर्ने उनको ठहर छ ।
इमान्दार र मेहनतीलाई स्वदेशमै अवसर
डिजिटल इन्वेन्टरी, तलब भुक्तानी र कर्मचारी व्यवस्थापनको सबै उनी आफैँ गर्छन् । श्याम सुनाउँछन्,यदि मैले गर्न सक्छु भने, तपाईं पनि गर्न सक्नुहुन्छ। अगुवाले सम्मान मात्र नभइ सम्मान गर्न सिकाउने हुनुपर्छ । यसलाई पाएको अवसरसँगै इमान्दारिताले दिएको जिम्मेवारी ठान्छु ।
नेपालमा अवसर खोज्नभन्दा पनि बनाउन लाग्नुपर्ने उनको बुझाइ छ । अहिले नेपालमा धेरै कम्पनी खुलेका छन् । इमान्दारी र मेहनतीका लागि अवसर पर्खेर बसेको उनले बताए ।
चार वर्ष काम गर्दा कुनै पनि पदको दाबी गरेनन् । उनले काम गर्दा आफ्नो र अर्काको कहिल्यै सोच्न नहुने उनको बुझाइ छ । काम गर्ने सोच र जाँगर भएमा आफू कहिले पनि पछि परिँदैन्, दार्शनिक सुनिए । सिकाइको अनुभव सेयर गर्दै भने, कसैसँग बारेमा कुरा गर्दा र आफ्नो कुरा अरूलाई कसरी चित्त बुझाउने त्यो पनि सिकेको छु । आफूले नजानेको सिक्ने र जानेको कुरा सबैलाई सिकाउनुपर्छ जस्तो लाग्छ ।
जिम्मेवार लिन चाहनेका लागि धेरै अवसर छन् । तपाईं मेहनत गर्न तयार हुनुहुन्छ भने, अवसरले तपाईंलाई पर्खेको छ, उनले अगाडि थपे, नेपालले अब आफ्नो युवाहरूलाई फर्काउने बेला आएको छ । यहाँ धेरै सम्पत्ति छन् । हाम्रो माटो, हिमाल, जलस्रोत र हाम्रो युवा जनशक्ति सम्पत्ति छन् ।
यी युवाको कथा सुन्दा नेपालमै अवसर छ । जसले यस्ता युवाहरूलाई प्रोत्साहन र अवसर दिन सकेमा नेपाल छाड्ने युवाको संख्यामा कमी आउने थियो । कुशल नेतृत्त्वले असल व्यवस्थापक जन्माओस् । जिम्मेवार र इमान्दार मानिसले विश्वविद्यालयमा डिग्री हासिल गरेकालाई पदचाप पछ्याउन लगाउन सक्नेछन् । जसले गर्दा इमान्दार मानिसहरू देशबाट नहराउन् । आफ्नै बारीमा मेहनती हात र इमान्दार युवालाई देख्न पाइयोस् ।

