

मिसन ०८४ को अभियान कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब अलमल नगरी मिसन ०८४ तिर लाग्नुपर्ने बताएका छन् ।
सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा आयोजित जनसभालाई सम्बोधन गदै उनले मिसन ०८४ को अभियानलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरे ।
‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन,’ प्रधानमन्त्री ओलीले भने । साथै, उनले सरकारले ल्याएका अध्यादेशहरू संसद्बाट पारित गरेरै छाड्ने बताए ।
‘पहिला मैले सुरुङ, पानीजहाज र रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदै छ, अब नारायणी नदीबाट तपाईँहरू जलयात्रा सुरु गर्न सक्नुहुन्छ, त्यसलाई गंगासम्म लैजान सक्नुहुन्छ,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने ताउँदै महासचिव शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताए । त्यस्तै, पार्टीका महासचिव शंकर पोखरेलले पनि सोही कार्यक्रममा सम्बोधन गर्दै सरकारले जारी गरेका अध्यादेशहरू संसद्बाट पारित हुने बताए ।
अध्यादेश संसद् छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नकालागि ल्याइएको दाबी गरे । ‘अध्यादेश संसद छल्न होइन । संसदबाट लैजाँदा ढिला हुने भएकाले ल्याउनु परेको हो,’ महासचिव पोखरेलले भने ।

