

प्रमुख प्रशासकीय अधिकृत नहुँदा पूर्वी अरुण गाउँपालिकाको काम ठप्प

भोजपुर । प्रमुख प्रशासकीय अधिकृत नहुँदा भोजपुरको पूर्वी अरुण गाउँपालिका को दैनिक कार्य सञ्चालनमा गम्भीर अवरोध आएको छ। कार्यपालिका महिला सदस्य र वडा महिला सदस्यबीच भत्ता सम्बन्धी विवाद उत्पन्न भएपछि पालिका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएका कारण विकास निर्माणका साथै अन्य प्रशासनिक कार्य प्रभावित भएका छन्।
गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अग्नि पराजुली माघ २ गतेदेखि कार्यालयमा उपस्थित नभएपछि योजनाका कार्यहरू अघि बढ्न सकेका छैनन्। पालिका उपाध्यक्ष बिनिता ढकालका अनुसार, कार्यालय प्रमुखको अनुपस्थितिले सम्झौता भइसकेका योजनाहरू समेत ठप्प भएका छन्।
“प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्झौता भएका योजनाहरूको काम अघि बढ्न सकेको छैन,” उपाध्यक्ष ढकालले बताउनुभएको छ ।
पालिकाका कर्मचारी देवी प्रसाद तिवारीका अनुसार, कार्यालयमा आउने सेवाग्राहीहरूले ठूलो सास्ती भोग्नु परेको छ। कार्यान्वयनका चरणमा रहेका योजनाहरू रोकिएपछि स्थानीयबासी मर्कामा परेका छन्।
योजनाहरू अघि बढाउन आवश्यक पहिलो पेश्की रकम निकासा गर्न नसक्दा सम्झौता भएका कामहरू रोकिएको स्थानीय भूपेन्द्र राणा बताउनुहुन्छ।
पालिकाले हालसम्म ४०% योजना सम्झौता गरी काम सुरु गरिसकेको छ, तर ६०% योजना सम्झौता नै हुन सकेको छैन।सम्झौता भएका योजनाहरुको पनि काम अघि बढ्न सकेको छैन् । काम अगाडी बढाउन आवश्यक सामग्री पहिलो पेश्की वापतको रकम निकाशा गर्न नपाउँदा सम्झौता भएको योजनाहरुको पनि काम अघि बढ्न नसकेको स्थानीय भुपेन्द्र राणाले बताउनुभयो ।
पालिकामा सम्झौता भइसकेका ८ वटा साना सिँचाइ आयोजनाहरू आवश्यक औजार र बजेट अभावका कारण सुरु हुन सकेका छैनन्। “समयमै काम गर्न नपाए बजेट नै फ्रिज हुने हो कि भन्ने चिन्ता छ,” स्थानीय जलसिँचाइ योजना अध्यक्ष रमेश शाही ले बताउनुभयो।
गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको छिटो व्यवस्था गरी अवरुद्ध योजनाहरूलाई अघि बढाउने आवश्यक पहल गर्नुपर्ने स्थानीयबासीहरूको माग छ।

