

बेमौसमी अकबरे खुर्सानी खेतीमा पूर्वी अरुण गाउँपालिकाको अग्रसरता

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकामा बेमौसमी अकबरे खुर्सानी उत्पादनलाई प्रवर्द्धन गर्न विशेष अभियान सञ्चालन गरिएको छ।
अरुण गाउँपालिका ७, जगरेका कृषक श्रीकुमार राईले एक वर्षदेखि वाभुक कृषि तथा माछा फर्म सञ्चालन गर्दै माछापालन र बेमौसमी अकबरे खुर्सानी खेतीलाई एकसाथ अघि बढाइरहेका छन्। उनले यी दुई व्यवसायलाई जोड्दै राम्रो आम्दानी गर्न सफल भएका छन्।
यस अभियानलाई सफल बनाउन स्थानीय कृषक, सरोकारवाला निकाय र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहकार्य रहेको छ। श्रीकुमार राई स्वयं नेपाली कांग्रेस अरुण गाउँपालिका सभापति समेत हुन्। अहिले फर्म सञ्चालनमा नेपाली कांग्रेसका अरुण गाउँपालिका सचिव राम आचार्य, ज्ञानेन्द्र दाहाल, सह(सचिव ललित राई, तरुण सभापति ललित राई तथा नेपाली कांग्रेस वडा नं.६ का उपसभापति लक्ष्मण राईको टिमको संयुक्त लगानी रहेको छ।
स्थानीय सरकारको समेत साथ रहेको यस अभियानअन्तर्गत गाउँपालिकाले कृषकहरूलाई उत्पादनदेखि बजारीकरणसम्म आवश्यक सहयोग पुर्याउने लक्ष्य लिएको छ। अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीका अनुसार किसानहरूलाई उन्नत बीउबिजन, मलजल, आधुनिक प्रविधि तथा विशेष तालिम प्रदान गरिँदै छ।
फर्मका सञ्चालक राईका अनुसार यो अभियानले राजनीति र आर्थिक स्वावलम्बनलाई जोड्ने लक्ष्य राखेको छ। राजनीति व्यवसायको रूपमा नभई समाज सेवासँग जोडेर अघि बढाउनु आवश्यक छ। राजनीतिमा संलग्न व्यक्तिहरूको आयश्रोत पारदर्शी हुनुपर्छ र वैकल्पिक व्यवसाय अनिवार्य हुनुपर्छ भन्ने अवधारणालाई व्यवहारिक रूपमा लागू गर्न यो अभियान सुरु गरिएको हो,सञ्चालक राईले बताए।
बेमौसमी अकबरे खुर्सानी खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न आवश्यक प्रविधि तथा तालिमको व्यवस्था गरिँदैछ। यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै गाउँपालिकाको आर्थिक अवस्थासमेत सुधार गर्ने अपेक्षा गरिएको छ। कार्यक्रम सफल भएमा अरुण गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
#अरुण गाउँपालिका # पूर्वी अरुण गाउँपालिकाको अग्रसरता
#बेमौसमी अकबरे खुर्सानी खेती

