

भोजपुरको अरूण गाउँपालिकामा IT Innovation Center स्थापना

भोजपुर । अरूण गाउँपालिकामा IT Innovation Center को औपचारिक उद्घाटन सम्पन्न भएको छ। अरूण गाउँपालिकाद्वारा सञ्चालित तथा जेनिस सोलुसन प्रा. लि. र सीताराम पद्मकुमारी फाउन्डेसनको सहकार्यमा स्थापित यस केन्द्रले स्थानीय क्षेत्रमा सूचना प्रविधि (IT) को प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा अरूण गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष शालिकराम खत्री र जिनिस फाउन्डेसनका CEO जेनिस फुयलले संयुक्त रूपमा IT Innovation Center को उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा नेपाल प्रहरीका पूर्व AIG भीमप्रसाद ढकाल, नेपाल प्रहरीका SSP प्रभु ढकाल, प्राध्यापक देबी घिमिरे, गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, समाजसेवी, बुद्धिजीवी तथा वडाध्यक्षहरूले सिफारिस गरेका सहभागीहरूको उपस्थिति रहेको थियो।
IT Innovation Center को स्थापना सँगै स्थानीय युवाहरूलाई प्रविधिमैत्री बनाउँदै डिजिटल सीप विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। केन्द्रमार्फत विशेष गरी सूचना प्रविधि सम्बन्धी प्रशिक्षण, उद्यमशीलता विकास तथा डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ।
गाउँपालिकाले डिजिटल युगसँग तालमेल मिलाउँदै प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउन र स्थानीय युवाहरूलाई स्वरोजगारमुखी बनाउन यस केन्द्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेको छ। उद्घाटन समारोहमा सहभागी वक्ताहरूले पनि प्रविधिको युगमा यस्ता केन्द्रहरूको आवश्यकताबारे प्रकाश पार्दै, यसले स्थानिय तहमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे।
स्थानीय युवाहरूको उत्साहजनक सहभागिता
IT Innovation Center को उद्घाटन कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। उनीहरूले प्रविधिमा आधारित नयाँ अवसरहरू पाउने आशा राखेका छन्। साथै, यस केन्द्रमार्फत विशेष गरी विद्यार्थी, व्यवसायी तथा नवप्रवर्तनशील (Innovative) सोच भएका व्यक्तिहरूलाई प्रोत्साहित गरिने छ।
यस केन्द्रको सञ्चालन, कार्यक्रम र तालिमहरूबारे थप जानकारी आउने दिनहरूमा सार्वजनिक गरिने बताइएको छ।

