

राष्ट्रिय युवा संघद्वारा, तेस्रो केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि सुरू

काठमाडौँ । राष्ट्रिय युवा संघ, नेपालले आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको आयोजना गर्ने जनाएको छ। जसको उद्घाटन एन्फा कम्प्लेक्स, सातदोबाटो, ललितपुरमा हुनेछ, नेपाली फुटबलका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट टोलीहरूको सहभागिता सुनिश्चित गरिएको छ।
कार्यक्रममा विभिन्न तहका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहने छ भने, एन्फा, राष्ट्रिय खेलकुद परिषद्, खेलाडी, कलाकार, पत्रकार, प्रायोजक, र खेलप्रेमी जनसमुदायको समेत सहभागी हुनेछन्। प्रतियोगिताको केन्द्रीय टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण हुनेछ।
यस वर्षको केपी ओली कपमा एन्फा द्वारा सूचीकृत ए डिभिजनका १० वटा टीमहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको क्वाटर फाइनलसम्मका खेल एन्फा कम्प्लेक्समा हुनेछन् भने सेमी फाइनल र फाइनल खेल दशरथ रंगशालामा आयोजना गरिने छ।
प्रतियोगिता विजेताले १५ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद र अन्य आकर्षक पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई ५ लाख रुपैयाँ नगद र विभिन्न पुरस्कारहरू प्रदान गरिनेछन्। थप , उत्कृष्ट खेलाडी, गोलकिपर, गोलकर्ता, उदीयमान खेलाडी र म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार र सम्मान प्रदान गरिने छ।
केपी ओली कपको उद्देश्य केवल खेलकुदको प्रवर्द्धन मात्र नभई, नेपालमा युवाहरूलाई खेलकुदमा संलग्न गराउने र राष्ट्रको समृद्धिमा योगदान पुर्याउने रहेको बताइएको छ। कार्यक्रमको सफलताका लागि आयोजकहरूले प्रायोजक र सहयोगी संस्थासँग सम्झौतासमेत गरेका छन् र यस कार्यक्रमको प्रचार प्रसारका लागि सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमको उपयोग गरिने छ।
राष्ट्रिय युवा संघ, नेपालले आगामी दिनहरूमा पनि खेलकुदको क्षेत्रलाई प्रोत्साहित गर्ने र समृद्ध नेपाल बनाउनका लागि निरन्तर प्रयास गर्नेछ।

