

अरूण गाउँपालिकामा १५ करोडको लागतमा १५ सैयाको अस्पताल निर्माण अन्तिम चरणमा

भोजपुर । अरूण गाउँपालिकाको प्याउलीमा निर्माणाधीन १५ सैयाको अस्पतालको निरिक्षण हिजो गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले गर्नुभएको छ। झण्डै १५ करोडको लागतमा निर्माण भइरहेको यो अस्पतालको काम अन्तिम चरणमा पुगेको जनाइएको छ।
निर्माणस्थलमा अहिले फिनिसिङको कार्य तीव्र गतिमा भइरहेको छ। निर्माण कम्पनीका प्रतिनिधिहरूका अनुसार निर्धारित समयतालिका अनुसार २०८१ सालको चैत्र मसान्तसम्ममा सम्पूर्ण निर्माण कार्य पूरा हुनेछ।
पालिका अध्यक्ष खत्रीले अस्पताल निर्माणले गाउँपालिका भित्र स्वास्थ्य सेवामा ठूलो सुधार ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। निर्माण सम्पन्न भएसँगै यो अस्पतालले ग्रामीण क्षेत्रका बासिन्दालाई नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाहरूले पनि अस्पताल निर्माणले स्वास्थ्य सेवाको पहुँचमा सुधार आउनेमा आशा व्यक्त गरेका छन्।

