

भोजपुरमा सुपथ मूल्यमा चामल वितरण, स्थानीयलाई राहत

भोजपुर । भोजपुरमा खाद्य गोदाममार्फत सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै स्थानीय नागरिकले राहत महसुस गरेका छन्। गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल उपलब्ध गराइँदा आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवार लाभान्वित भएका छन्।
जिल्लास्थित व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोषकुमार शाहका अनुसार, गत असोज ७ गतेदेखि आगामी माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो रु ५ छुटसहित चामल वितरण भइरहेको छ। हाल गोदाममा २५ किलोको स्टिमजिरा मसिनो चामल रु २,१२५ मा र अरुवा सोना मन्सुली चामल रु १,५०० प्रति बोरा बिक्री भइरहेको छ।
स्थानीयको मागलाई ध्यानमा राख्दै यस वर्ष गोदाममा चामलको मात्रा वृद्धि गरिएको छ। विगतमा वार्षिक १,००० क्विन्टल चामल वितरण हुने गरेकामा यो वर्ष १,५०० क्विन्टल पुर्याइएको छ। औसतमा मासिक १२५ क्विन्टल चामल वितरण भइरहेको छ। आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकतामा राखी चामल वितरण गरिएको प्रमुख शाहले जानकारी दिनुभयो।
स्थानीयको मागअनुसार गोदामबाट चिनी पनि वितरण सुरु गरिएको छ। हाल १० क्विन्टल चिनी मौज्दात रहेको र यो वितरणले नागरिकलाई राहत प्रदान गर्नुका साथै बजार मूल्य सन्तुलनमा राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सदरमुकाम बाहिरका स्थानीयका लागि हतुवागढी गाउँपालिकामा बन्द रहेको खाद्य डिपोलाई पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। कार्यालयले सदरमुकाममा आउने चामलको मात्रालाई ५,००० क्विन्टल र घोडेटार डिपोमा ३,००० क्विन्टल पुर्याउने लक्ष्य लिएको छ।
घोडेटारस्थित खाद्य डिपो सशस्त्र द्वन्द्वकालमा चामल लुटिएपछि बन्द भएको थियो। पछिल्लो छ महिनामा करिब १,२०० क्विन्टल चामल स्थानीयले खपत गरेको कार्यालयले जनाएको छ। चाडपर्वमा मात्रै नभई नियमित रूपमा खाद्य सामग्री वितरणले दुर्गम क्षेत्रका नागरिकलाई समेत लाभ पुर्याइरहेको छ।

