

“बृहत् माघी मेला: आयातित खाद्य पदार्थमा रोक, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड”

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले आयोजना गरेको दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेला अन्तर्गत आयातित पेय पदार्थ र पत्रु खाना (जङ्क फुड) को बिक्रीमा पूर्णरूपले रोक लगाइएको छ। यो प्रतिबन्ध स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको हो। गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने खाद्य सामग्री मात्रै बिक्री वितरणको लागि खुला गरेको छ।
मेलामा कोदो, मकै, गहुँ, फापर, भुटेको मकै, मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका परिकारलाई प्राथमिकता दिइएको छ। त्यस्तै, बाह्य पेय पदार्थको सट्टा मही, दही, एभोकाडोको जुस, र सुन्तलाको जुस बिक्री वितरण गरिने व्यवस्था गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले आयातित खाद्य सामग्रीमा रोक लगाइएको हो।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार, मेला र प्रतियोगिताले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुका साथै आन्तरिक पर्यटन र खेल क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। मेलामा बाह्य वस्तुहरुको बढ्दो प्रभावले स्थानीय उत्पादन ओझेलमा पर्ने जोखिम रहेकाले यस्तो कदम उठाइएको उहाँले बताउनुभयो।
गोल्ड कप र माघी मेलाको उद्घाटन कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो। उहाँले प्रतियोगिता र मेला सञ्चालनले खेलकुदको विकास र आन्तरिक पर्यटनलाई टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, निर्माणाधीन रङ्गशालालाई पूर्णता दिन बजेट व्यवस्थापनमा पहल गर्ने वाचा गर्नुभएको छ।
गाउँपालिकाले यस अवसरमा पूर्वमुख्यमन्त्री राई र आर्थिक सहयोग उपलब्ध गराउने श्याम श्रेष्ठलाई सम्मान गरेको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद रु दुई लाखसहित मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ, र मेला माघ १० गतेसम्म सञ्चालन हुनेछ।

