

पर्यटकीय चखेवाभञ्ज्याङमा साकेला सिली प्रतियोगिता

भोजपुर । भोजपुर र खोटाङको सिमानामा रहेको चखेवाभञ्ज्याङमा माघ १ गते सुरु भएको बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेलाको अवसरमा बिहीबार खुला साकेला सिली प्रतियोगिता सम्पन्न भएको छ। किराँत राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिलीको संरक्षण र प्रवर्द्धनका लागि यो प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको उद्देश्य युवापुस्तामा साकेला सिलीप्रति चासो जगाउँदै यसको संरक्षण र मौलिकतालाई उजागर गर्नु रहेको आयोजक टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए। अध्यक्ष बस्नेतका अनुसार प्रतियोगिताले साकेला सिलीका बारेमा जानकारी प्रदान गर्नुका साथै विचार विमर्श र समान बुझाइको विकासमा समेत टेवा पुर्याउनेछ।
मापदण्डका आधारमा गरिएको प्रतिस्पर्धामा साम्खावुङ भोजपुर पोखरे समूह प्रथम, सुम्निमा कृषि सहकारी संस्था देउराली समूह दोस्रो र छिनामखु सिली समूह तेस्रो भएका छन्। प्रतियोगितामा नौ वटा समूहले सहभागिता जनाएका थिए। विजेता समूहलाई क्रमशः नगद २० हजार, १५ हजार, र १० हजार रुपैयाँको पुरस्कार मेला समापनका दिन प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
गाउँपालिकाले एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ घोषणा गरेको छ। माघ १ देखि ५ गतेसम्म विविध कार्यक्रमसहित आयोजित मेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले गरेका थिए।
‘मुन्दुम ट्रेल’ले खोटाङ, भोजपुर, र सोलुखुम्बु जिल्ला समेट्दै प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको अनुभव गराउनेछ। मेलाले पर्यटन प्रवर्द्धनसँगै कृषि उत्पादनलाई पनि विशेष प्राथमिकता दिएको आयोजकले जनाएको छ।
मेलाले स्थानीय संस्कृतिको संरक्षण र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

