

पर्यटन विकासका लागि पूर्वाधार आवश्यक:अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास अनिवार्य भएको बताउनुभएको छ। कास्की जिल्लाको मादी गाउँपालिका–१ स्थित सिक्लेस गाउँमा “ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव” को नारा सहित आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले पर्यटन आर्थिक विकासको प्रमुख आधार भएको उल्लेख गर्नुभयो।
अध्यक्ष ढकालले नेपालमा पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रबाट देशको अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्न र आर्थिक विकासलाई तीव्रता दिन सकिने बताउनुभयो। उहाँले सिक्लेसमा निर्माणाधीन केवलकार परियोजनाले पर्यटनमा नयाँ आयाम थप्ने धारणा व्यक्त गर्दै भने, ूसिक्लेस आकर्षक पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाइसकेको छ। केवलकार निर्माणले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउनेछ।ू
सिक्लेसदेखि कोरीसम्म बन्ने नयाँ केवलकारको प्रक्रियागत कामहरू सम्पन्न भइसकेको जानकारी दिंदै उहाँले यसले क्षेत्रीय पर्यटन, आर्थिक समृद्धि र समग्र विकासलाई सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, स्थानीय कला र संस्कृतिको संरक्षणको महत्त्व झल्काउँदै अध्यक्ष ढकालले यसको प्रवद्र्धनका लागि स्थानीय युवा क्लबले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो।
मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटनलाई आर्थिक विकासको आधार मान्दै पूर्वाधार विकास र सहजीकरणका लागि सरकार सधैं तयार रहेको बताउनुभयो।
गुरुङ समुदायको बाहुल्यता रहेको सिक्लेस गाउँ कास्की जिल्लाको मादी गाउँपालिका–१ मा पर्दछ। पोखराबाट करिब ४० किमि उत्तरपूर्वमा रहेको यो गाउँबाट अन्नपूर्ण र लमजुङ हिमश्रृंखला नजिकै देख्न सकिन्छ। पर्यटनको दृष्टिले चर्चित यस गाउँले ग्रामिण पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान पु¥याउँदै आएको छ।

