

अपि हिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारका लागि अध्यक्ष प्रचण्डसँग आग्रह

काठमाडौँ । दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूले पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन्।
उनीहरूले अपि हिमाल गाउँपालिकासम्म सडकको पहुँच नभएको, यो गाउँपालिका मात्र रहेको उल्लेख गर्दै, पालिकाको मुकामसम्म पुग्न अझै १० किलोमिटर सडकको काम बाँकी रहेको जानकारी दिए। यसका लागि बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्दै उनीहरूले तीन सूत्रीय मागपत्र प्रचण्डलाई बुझाएका छन्। मागपत्रमा मकरीगाड–खण्डेश्वरी १० किलोमिटर सडकका लागि आवश्यक बजेट, पालिकाका सबै वडाहरूमा राष्ट्रिय विद्युत् लाइन विस्तार, र वडा नम्बर ३ को भूगोलको हिसाबले सेवा प्रवाहलाई सहज बनाउन वडा विभाजनका लागि सहयोगको माग गरिएको छ।
जवाफमा पूर्व प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री रहेका बेला थोरै भए पनि बजेट विनियोजनको सुरुवात गरिएको जानकारी दिए। उनले बजेट वृद्धि र आवश्यक स्रोतको सुनिश्चितता गर्न पहल गर्ने प्रतिबद्धता जनाए। त्यतिबेला पालिका मुकामसम्म पुग्ने बजेटको लागि निर्देशन दिइएको भए पनि पर्याप्त बजेट प्राप्त नभएको उल्लेख गर्दै उनले अब प्रतिपक्ष दलको नेताको रूपमा यसका लागि पहल गर्ने आश्वासन दिए।
प्रचण्डले सुदूरपश्चिमको प्रसिद्ध अपि हिमाल गाउँपालिकामा अपेक्षित विकास र पर्यटन प्रवर्धनका लागि पर्यटन बोर्ड र विद्युत् प्राधिकरणमार्फत कार्य अघि बढाउने जनाए।
यस अवसरमा गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, उपाध्यक्ष देवकीदेवी बोहरा, वडा अध्यक्षहरू, कांग्रेसका पालिका सभापति शोबनसिंह लोथ्याल, माओवादी केन्द्रका उपाध्यक्ष मोहनसिंह कार्की, एमालेका प्रतिनिधि नरेन्द्रसिंह रोकाया लगायत ३५ जनाले हस्ताक्षरित ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई बुझाएका थिए।

