

सूर्यदर्शन सहकारी ठगी प्रकरणः इजलास प्रवेश नदिँदा पीडितको धर्ना

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सुन्नका लागि अदालत प्रवेश नदिएको भन्दै पीडितहरूले विरोध जनाएका छन्। रास्वपाका नेता–कार्यकर्तासँगै कानुन व्यवसायीलाई अदालत प्रवेश दिइएको, तर जाहेरीकर्ता पीडितलाई प्रवेश नदिएको भन्दै सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले केहीबेर अदालत गेटमै विरोधस्वरूप सुतेका थिए। श्रेष्ठसँगै अन्य पीडितहरूले पनि धर्नामा बस्दै विरोध जनाए।
प्रदर्शनपछि प्रहरीले उनीहरूलाई हटाएर कोमागाने पार्क पुर्याएको थियो। त्यही समयमा रास्वपा समर्थित अनुराधा श्रेष्ठको नेतृत्वमा रास्वपा कार्यकर्तासहितको टोली नेपाली कांग्रेस कास्की कार्यालय पुगेको थियो। उनीहरूले कांग्रेस महामन्त्री गगन थापासँग सहकारी ठगीमा रविको प्रमाण माग्दै भेट गरेका थिए। यो घटनाबारे जानकारी पाएपछि अन्य सहकारी पीडितहरू पनि कांग्रेस पार्टी कार्यालय पुगे र दुवै पक्षबीच वाद प्रतिवेदनमा उत्रिए। पछि प्रहरीले दुवै पक्षलाई कार्यालयबाट बाहिर निकालेपछि स्थिति सामान्य भएको थियो।
सूर्यदर्शन सहकारी ठगीका प्रमुख प्रतिवादीहरू मध्ये, पूर्व डिआइजी र गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीको थुनछेक बहस हालै न्यायाधीश नीतिज राईको इजलासमा चलिरहेको छ। यस प्रकरणमा रवि लामिछाने, छविलाल जोशी, लिला पछाईँसहित अन्य अभियुक्तहरूको थुनछेक बहस चलिरहेको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ ठगी र २७ करोड ८९ लाख ८४ हजार रुपैयाँ सम्पत्ति शुद्धीकरणको बिगो माग गरिएको छ। यसैगरी, संसदिय समितिको प्रतिवेदनले विभिन्न सहकारी संस्थाबाट रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको विषयमा रविको संलग्नता देखाएको छ।
अब भने, रविसहित ६३ जनालाई विपक्षी बनाउँदै एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो दाबी गर्दै कास्की जिल्ला अदालतमा अभियोजन पत्र दर्ता गरिएको छ।

