

सरकारबारे ओलीको प्रतिवेदन- कामहरू सकारात्मक छन्, पर्याप्त भएनन्

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारका कामहरूलाई सकारात्मक भने पनि पर्याप्त नभएको बताएका छन्। पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले सरकारका कामहरूको बारेमा चर्चा गरेका छन्।
ओलीका अनुसार, सरकारका विभिन्न कामहरू सकारात्मक रहे पनि जनताले अझ तीव्र विकास र परिवर्तनको अपेक्षा गरेका छन्। उनले सिद्धबाबा सुरुङ ब्रेक थ्रु, प्रमुख राष्ट्रिय राजमार्गहरूको पुनर्निर्माण, सुनकोशी पुलको २० दिनभित्र पुनर्निर्माण, बंगलादेशमा विद्युत् निर्यात सुरु गर्नु, भैरहवा विमानस्थलमा विदेशी एयरलाइन्सहरूको उडान, स्याटलाइट प्रविधिमा आधारित नयाँ संयन्त्र जस्ता कामहरूको उल्लेख गरेका छन्।
तर, ओलीले जाजरकोट र पश्चिम रुकुमका पुनर्निर्माण कार्यहरूमा ढिलाइ र असोज महिनामा आएको बाढीबाट पीडितहरूको पुनस्थापना ढिलो हुनु भनेको सोचनीय विषय भएको बताएका छन्।

