शिक्षा मन्त्रालयको निर्णय: विद्यार्थीको घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ। यस निर्णयअनुसार विद्यार्थीको मूल्याङ्कन बहुपक्षीय ढंगले गर्नुपर्ने बताइएको छ। शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार, पाठ्यक्रम विकास केन्द्रलाई मूल्याङ्कनको विधि बनाउने जिम्मा दिइएको छ। उनले भनिन्, ूपाठ्यक्रम विकास केन्द्रले विधिको प्रस्ताव १५ दिनभित्र ल्याउनेछ, विज्ञसँग छलफल गरेर विधि तयार गरिनेछ।
मूल्याङ्कनमा अब केवल परीक्षामा लेखेको आधारमा मात्र ध्यान नदिइ, विद्यार्थीको घरको काम पनि समावेश गरिनेछ। मन्त्री भट्टराईले भने, विद्यार्थीको मूल्याङ्कन गर्दा बहुपक्षीय ढंगले गर्नु पर्छ। त्यसैले, आन्तरिक मूल्याङ्कनको विधिमा सुधार ल्याउने निर्णय गरिएको छ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले मूल्याङ्कनको विधि चाँडै बनाइ कार्यान्वयनमा ल्याउने जानकारी दिए। उनले भने, शैक्षिकसत्र २०८२ देखि यो विधि लागू गर्ने तयारी गरिएको छ । मन्त्रालयले श्रम र सिपको सम्मान गर्दै यसलाई पाठ्यक्रममा समावेश गर्ने योजना बनाएको छ।
मन्त्री भट्टराईका अनुसार, अब विद्यार्थीले घरमा बुबाआमालाई सघाउने, खेतबारीमा काम गर्ने, भाइबहिनी हेरचाह गर्ने, तरकारी पकाउने, लुगा सिलाउने, बजारमा किनमेल गर्ने जस्ता कार्य पनि मूल्याङ्कनमा जोडिनेछन्। यससँगै जीवनोपयोगी सीप सिक्नेलाई पनि मूल्याङ्कनमा समावेश गरिनेछ।
कक्षा ४ देखि ८ सम्म आन्तरिक मूल्याङ्कनका ५० अंक र बाह्य परीक्षाका ५० अंक हुनेछन्, जबकि कक्षा ९ देखि १२ सम्म आन्तरिक मूल्याङ्कनमा २५ अंक र बाह्य परीक्षामा ७५ अंक हुनेछन्।
यस प्रकार, विद्यार्थीको शैक्षिक विकासमा विभिन्न पक्षको मूल्याङ्कन गर्न मन्त्रालयले नयाँ पहल अघि बढाएको छ।