

मन्त्री यादवको निर्देशन:समयमै नतिजा देखिनेगरी खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले निर्माणाधीन खानेपानी आयोजनामा नतिजा देखिनेगरी काम गर्नुपर्ने आवश्यकता व्यक्त गरेका छन्। बुटवलस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयको निरीक्षण र अनुगमन पछि मन्त्री यादवले पानीलाई जीवनदायिनी मान्दै यसको व्यवस्थापनमा कुनै प्रकारको ढिलाइ सहनशील नहुने बताएका हुन्।
मन्त्री यादवले भने, “मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने सबैभन्दा महत्त्वपूर्ण चिज भनेको पानी हो। त्यसैले नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले चलिरहेका सबै खानेपानी आयोजनामा नतिजा देखिनेगरी समयमै काम सम्पन्न गर्नुपर्छ।”
यसै क्रममा, मन्त्री यादवले सबै निर्माण व्यवसायीलाई तत्काल काममा ढिलाइ नगर्न र तोकिएको समयमा निर्माण सम्पन्न गर्न आग्रह गरे। उनले समस्या आएमा तुरुन्तै आफूलाई र मन्त्रालयलाई जानकारी दिन समेत सबैलाई आग्रह गरे। खानेपानी जस्तो अत्यावश्यक चिजमा कुनै बाधा अवरोध हुनुहुँदैन उनले जोड दिए।
मन्त्री यादवसँगै मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, सहसचिव रमाकान्त दुवाडी र राजेन्द्र सापकोटा लगायतका अधिकारीहरूको पनि उपस्थिति थियो।

