

मकवानपुरमा बाघले मार्यो ७ वटा बाख्रा, नियन्त्रणमा लिन हात्तीसहितको टोली परिचालन
काठमाडौं । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–५ बसन्तपुर बाघको आतंकले त्रसित बनेको छ ।
बाघको आक्रमणबाट हिजो साँझ एक जना वृद्ध महिलाको ज्यान गएको थियो । आज बिहान बाघले बसन्तपुरका सुर्यबहादुर मोक्तानको खोरमा पसेर ७ वटा बाख्रा मारेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बाघले एउटा बाख्रा लिएर जंगल पसेको खबर प्राप्त भएको जानकारी दिएको छ ।
मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमती ७२ वर्षीय कान्छिमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी थिइन् ।

