

भोजपुर-सङ्खुवासभालाई जोड्ने सतिघाटमा पक्की पुल नहुँदा नागरिकलाई सास्ती

भोजपुर। भोजपुरको सतिघाट, जुन सङ्खुवासभालाई जोड्ने अरुण नदीको मुख्य नाका हो, यहाँ पक्की पुलको अभावले स्थानीयवासीलाई ठूलो समस्या उत्पन्न गरिरहेको छ। उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने यो मुख्य नाका बिना पक्की पुलका कारण हरेक वर्ष नागरिकहरूले दुःख भोगिरहेका छन्।
करिब छ वर्षअघि यहाँ वैकल्पिक उपायको रुपमा फेरी सञ्चालन गरिएको थियो, तर विभिन्न प्राविधिक समस्याहरू, हावाहुरी र पानीको बहाव बढ्नाले यसले पनि समय समयमा बन्द हुने गरेको छ। यसले स्थानीयवासीलाई अझ बढी समस्यामा पारिरहेको छ।
अरुण नदीमा पक्की पुलको अभावले षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई लामो समयदेखि कठिनाइ भोग्नु परेको छ। स्थानीयवासी नवीन कार्कीले भने, ूअरुण नदीमा पुल नहुँदा सिङ्गो उत्तरी क्षेत्रका नागरिकलाई समस्या छ। नदीवारि षडानन्द क्षेत्रमा सडक कालोपत्र बन्दैछ, तर विडम्बना यो नदीमा पुल छैन। यदि यहाँ पुल बन्यो भने हाम्रो क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने थियो।ू
बर्खा मौसममा पानीको बहाव बढ्दा फेरी पूर्ण रूपमा बन्द हुने भएकाले, झोलुङ्गे पुलबाट आवतजावत गर्नु र पिँठ्यूमा सामान ओसार्नुपर्ने बाध्यता देखिन्छ। नवीन कार्कीले भने, ूसतिघाटमा पुल बन्छ भन्ने आशामा लामो समय बित्यो, तर अहिलेसम्म कुनै पक्की पुल छैन।ू
सतिघाटमा २०७६ सालदेखि फेरी सञ्चालनमा आएको हो, जसले केही राहत दिएको भए पनि वर्षा सुरु भएपछि यो पनि बन्द हुने गर्छ। स्थानीयवासीका अनुसार फेरी प्रायः ६ देखि ८ महिना मात्र सञ्चालनमा रहन्छ। हिउँदको समयमा भने फेरी बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म सञ्चालन हुन्छ।
षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले पक्की पुल निर्माणका लागि पहल गर्दै रहेको बताए। उनले भने, ूफेरीले तत्कालिन समस्या समाधानमा केही राहत दिएको भए पनि स्थायी समाधान छैन। यहाँ पक्की पुल निर्माणका लागि पहल भइरहेको छ।ू
राज्यले अरुण नदीमा पक्की पुल निर्माणमा ध्यान दिन आवश्यक रहेको स्थानीयवासीहरूको भनाइ छ।

