

जैविक खेतीमा जुट्दै भोजपुर भुल्केका किसान

भोजपुर । रामप्रसादराई गाउँपालिका–३ भुल्केका किसानहरू विषादीरहित कृषिबाली उत्पादन गर्ने उद्देश्यले जैविक खेती प्रणालीमा समर्पित भएका छन्।
गाउँपालिकाले अभियान चलाएर किसानहरूलाई जैविक खेतीका तालिम र सामग्री प्रदान गरेपछि उनीहरू आकर्षित भएका हुन्। यहाँका आठ वडामा जैविक मल र विषादी बनाउने तालिम दिइएको छ। रासायनिक मलको प्रयोग घटाउने उद्देश्यले यो प्रणाली अपनाइएको हो। स्थानीय सरकारबाट प्राविधिक सहयोग प्राप्त गरेका किसानहरूले जैविक खेतीका विभिन्न पक्षमा ज्ञान प्राप्त गरेका छन्।
गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार, जलवायु परिवर्तन र स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावका कारण जैविक खेती प्रणालीमा जोड दिइएको छ। यसका साथ साथै कृषकहरूको उत्पादित कृषि उपजको बजारीकरणमा पनि सहयोग दिइरहेको छ।

