हिरासतमा रवि सुतिरहेको अनधिकृत तस्बिर खिच्ने निकोलस भुसाल रिहा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल रिहा भएका छन् ।
आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो । उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए ।
सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो ।
हिरासत कक्षको फोटो त्यसरी सार्वजनिक हुनुमा सुरक्षा चुक भएको भन्दै प्रहरीको आलोचना पनि भएको थियो ।