भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
काठमाडौं। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज परिसरमा प्रेसर कुकर बम फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
मेडिकल कलेजको मालीले रुख काटिरहेका वेला आज बिहान करिब साढे १०बजेतिर प्रेसर कुक बम देखेका थिए । त्यसपछि स्थानीय प्रशासनलाई जानकारी गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार बम पुरानो र खिया लागेको अवस्थामा थियो । नेपाली सेनाले त्यसलाई पड्काएर डिस्पोज गरेको कार्कीले बताए ।
बम कसले र कहिले राख्यो भन्ने विषयमा केही नखुलेको र अनुसन्धानको क्रममै रहेको उनले बताए । प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडीको ब्याट्री लगायतका उपकरण जडान गरेर राखिएको थियो ।
ब्यागमा राखेको कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई उक्त बस्तु हटाउन आग्रह गरेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए ।
बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले करिब १ बजे डिस्पोज गरेको थियो । बम डिस्पोजबाट कुनै पनि प्रकारको क्षति नभएको प्रहरी प्रवक्ता कार्कीले बताए ।