अवकाशमा जान लागेका कर्मचारीहरूको माथिल्लो तहमा बढुवा रोक्नुपर्ने सुझाव
काठमाडौँ । सांसदहरूले अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने प्रक्रिया रोक्नुपर्ने सुझाव दिएका छन्। उनीहरूको भनाइ अनुसार, यसले सरकारी सेवामा पेन्सनको भार थप्ने र आर्थिक असंतुलन उत्पन्न गर्ने जोखिम रहेको छ।
सिंहदरबारमा बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा आयोजित बैठकमा संघीय निजामती सेवासम्बन्धी विधेयकको संशोधनमा छलफल भएको थियो। बैठकमा सांसदहरूले अवकाशमा जान लागेका कर्मचारीलाई बढुवा गर्न रोक लगाउने विषयमा चर्चा गरे। उनीहरूले भने कि, यस्ता कर्मचारीहरूको बढुवा गर्दा थप पेन्सनको भार पर्ने भएकाले यो प्रचलन बन्द गर्नु आवश्यक छ।
सांसद अमरेश कुमार सिंहले भने, अवकाश प्राप्त भइसकेपछि विदेशको पिआर परमानेन्ट रेसिडेन्सी लिइ, एक वर्षमा एकपटक नेपाल आएर पेन्सन थाप्ने चलनलाई बन्द गर्नुपर्नेछ।यसै क्रममा उनले अवकाशप्राप्त कर्मचारीहरूलाई सम्मानको नाममा माथिल्लो तहमा बढुवा गर्ने प्रक्रिया पनि रोक्नुपर्ने सुझाव दिए।
सांसदहरूले थप सुझाव दिए कि, संघीय निजामती सेवामा कर्मचारीहरूको बढुवा खुला प्रतिस्पर्धामा आधारित हुनुपर्छ र काजको व्यवस्था हटाएर कर्मचारीलाई तोकिएको निकायको स्थानमा अनिवार्य रूपमा खटाउनुपर्ने आवश्यकता रहेको छ।
संघीय निजामती सेवा विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने कार्य जारी रहेको छ, जसमा १०० भन्दा बढी सांसदहरूले आफ्नो संशोधन प्रस्ताव पेश गरेका छन्।
यो प्रस्तावले कर्मचारी सेवामा सुधार र पारदर्शिता ल्याउने उद्देश्य राख्दै सरकारी सेवामा अवकाशप्राप्त कर्मचारीहरूको बढुवा र पेन्सन प्रथामा आवश्यक परिवर्तनको माग गरेको छ।