भोजपुरको पूर्वी अरुण गाउँपालिका ०३ प्याउलीमा माङ्खिम् समुद्घाटन तथा साकेला महोत्सव सम्पन्न
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका ०३ स्थित प्याउलीमा माङ्खिम् (देउता बस्ने घर) समुद्घाटन र साकेला महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। यो महोत्सव अरुण आध्यात्मिक प्रतिष्ठान परिसरमा आयोजना गरिएको थियो, जसको उद्देश्य धार्मिक सहिष्णुता र संस्कृतिको प्रवर्द्धन गर्नु हो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा किराँत राई यायोख्खाका जिल्ला अध्यक्ष श्रीविदुर राई उपस्थित थिए। उनले माङ्खिम् समुद्घाटन र साकेला महोत्सवको महत्त्व र धार्मिक सहिष्णुताको सन्देश दिनुका साथै अरुण आध्यात्मिक प्रतिष्ठानको उद्देश्यको समर्थन गरे।
श्रीविदुर राईले आफ्नो सम्बोधनमा धार्मिक सहिष्णुताको आवश्यकता र प्राकृतिक जीवनशैलीको महत्त्वलाई जोड दिएका थिए। हामी प्रकृतिका उपासक हौँ, र संस्कारको अभावले धर्मभित्रको ज्ञान र विज्ञान ओझेलमा परेको छ,ू उनले भने। साथै, उनले धार्मिक सहिष्णुता फैलाउनको लागि सबैको एकजुटता र साझा प्रयास आवश्यक रहेको बताएका छन्।
अरुण आध्यात्मिक प्रतिष्ठानको महासचिव आचार्य सोमनाथ कोइरालाले कार्यक्रमको सञ्चालन गरेका थिए। अन्य अतिथिहरूमा अरुण गाउँपालिका उपाध्यक्ष विनीता ढकाल, अरुण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद पराजुली, तथा विभिन्न सामाजिक र धार्मिक संघसंस्थाका प्रतिनिधिहरू पनि उपस्थित थिए। कार्यक्रमको संयोजन अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानकी उपाध्यक्ष कविता राईले गर्नुभएको थियो।
यो महोत्सव अरुण आध्यात्मिक प्रतिष्ठानलाई हिन्दू, किराँत र बौद्ध धर्मको पवित्र थलोको रूपमा स्थापित गर्नका लागि महत्वपूर्ण कदम भएको आयोजकहरूको भनाइ थियो। महोत्सवमा स्थानीय जनताको उत्साहजनक सहभागिता रहेको थियो र कार्यक्रमले धार्मिक सहिष्णुता र आपसी समझदारीको सन्देश फैलाउन महत्वपूर्ण भूमिका निभायो।
यस अवसरमा, अरुण गाउँपालिकाका विभिन्न वडाका प्रतिनिधिहरू र किराँत राई यायोख्खाका सदस्यहरू समेत उपस्थित थिए।