‘पुष्पा- २’का अभिनेता अल्लु अर्जुन पक्राउ, १४ दिन न्यायिक हिरासतमा पठाउन आदेश
काठमाडौँ । दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई भारतको हैदरावाद प्रहरीले पक्राउ गरेको छ।
केही दिनअघि उनको फिल्म ‘पुष्पा-२’ हैदरावादस्थित हलमा प्रदर्शन गर्ने क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध जाहेरी दर्ता भएको थियो।
फिल्म ‘पुष्पा २’ रिलिजको पूर्वसन्ध्यामा हैदरावादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो। मानिसहरू अग्रिम टिकट काटेर चलचित्र हेर्न आउने गरेका छन्।
रिपोर्टअनुसार अल्लु अर्जुनको टोलीले अचानक उनको यहाँ भ्रमण गर्ने योजना बनाएको थियो र उनी थिएटरमा पुग्नेवित्तिकै उनलाई हेर्न फ्यानमा भागदौड मच्चिएको थियो।
भागदौडका क्रममा त्यहाँ एक महिलाको मृत्यु भयो र अल्लु अर्जुनसहित धेरै व्यक्तिविरुद्ध जाहेरी दर्ता गरिएको थियो।
समाचार एजेन्सी एएनआईका अनुसार हैदरावाद पुलिसले अल्लु अर्जुनलाई सोधपुछका लागि चिक्कडपल्ली पुलिस स्टेसनमा लगेको छ।
भारतीय कलाकार अल्लू अर्जुनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश भएको छ।
तेलंगनाको एक स्थानीय अदालतले शुक्रबार उनलाई १४ दिनका लागि हिरासतमा पठाउन आदेश दिएको टाइम्स अफ इन्डियाले जनाएको छ।
पुष्पा-२ का चर्चित अभिनेता समेत रहेका अर्जुनलाई शुक्रबार बिहान उनको घरबाट प्रहरीले पक्राउ गरेको थियो।
अहिले भारतसहित विभिन्न देशमा पुष्पा-२को प्रदर्शन भइरहेको छ। त्यसैबीच डिसेम्बर ४ तारिखमा सन्ध्या थिएटरमा प्रोमोशनका लागि जाँदा भागदौड मच्चिँदा २५ वर्षीया रेवतीको मृत्यु भएको थियो। त्यही सिलसिलामा अनुसन्धानका लागि अर्जुनलाई प्रहरीले पक्राउ गरेको हो। मृतक रेवतीका छोराको अझै उपचार भइरहेको छ।
प्रोमोशन कार्यक्रम व्यवस्थित गर्न नसक्दा, भीड व्यवस्थापन गर्न नसक्दा उक्त घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसदिन प्रहरीले लाठी चार्ज समेत गरेको समाचारमा उल्लेख छ।
‘थिएटर व्यवस्थापकले अर्जुन आउँछन् भन्ने थाहा हुँदाहुँदै भीड व्यवस्थापन गर्न कुनै सुरक्षा योजना बनाएको देखिएन। त्यहाँ छुट्टै प्रवेशद्वार वा बाहिरिने द्वार बनाइएको थिएन,’ प्रहरीले भनेको थियो।
यसअघि तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्म ‘पुष्पा २’ मा अल्लू अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।